१२ साउन, काठमाडौं । साउन दोस्रो सातासम्म देशभरका कुल धानखेती हुने क्षेत्रफलमध्ये ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७४ हजार ३ सय ९२ हेक्टरमा रोपाइँ सकिएको छ ।
कृषि विभागको तथ्याङ्क अनुसार अझै १४.२८ प्रतिशत (१ लाख ९५ हजार ६ सय ६९ हेक्टर) खेतमा धान रोप्न बाँकी छ । देशको मुख्य अन्नभण्डार मधेस प्रदेशमा रोपाइँ सबैभन्दा सुस्त देखिएको छ, जहाँ २२.१२ प्रतिशत (करिब ८५ हजार ३ सय ५२ हेक्टर) खेत अझै बाँझै छ । मधेसपछि गण्डकीमा १९.२८ र कोशीमा १३.०३ प्रतिशत भूभागमा रोपाइँ हुन बाँकी छ ।
यसैगरी बागमतीमा १२.९१, कर्णालीमा ११.७८ र लुम्बिनीमा ११.०१ प्रतिशत खेतमा रोपाइँ बाँकी रहँदा सुदूरपश्चिममा भने ९७.९३ प्रतिशत काम सकिएर रोपाइँ अन्तिम चरणमा पुगेको छ ।
अझै ठूलो क्षेत्रफलमा धान रोप्न बाँकी रहे पनि गत वर्षको तुलनामा यसपालि राष्ट्रिय रोपाइँ दरमा सुधार आएको छ । गत वर्ष साउन दोस्रो सातासम्म ७८.८४ प्रतिशत मात्र रोपाइँ भएकोमा यस वर्ष करिब ७ प्रतिशतले वृद्धि भएको छ ।




















