१२ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्ना संरचनाहरूलाई पुनरावलोकन गर्दै ३८ प्रतिशत दरबन्दी कटौती गरेको छ ।
साबिकको संघीय मामिला तथा भूमि व्यवस्था मन्त्रालयहरू गाभिएर बनेको यस एकीकृत मन्त्रालयमा २ सय २५ कर्मचारीको कुल दरबन्दी रहेकोमा ८५ वटा कटौती गरी १ सय ४० मा झारिएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव गणेशप्रसाद भट्टका अनुसार पुनर्संरचनापश्चात् आवश्यक महाशाखा र कर्मचारीको नयाँ संगठन तालिका (ओएण्डएम) तय गरिएको हो ।
नयाँ व्यवस्थाअनुसार मन्त्रालयमा १ सचिव, ६ सहसचिव, २४ उपसचिव, ४७ शाखा अधिकृत र २९ नायब सुब्बा रहनेछन् भने १५ सवारी चालक र १८ कार्यालय सहयोगीको दरबन्दी कायम गरिएको छ ।
यसैगरी मन्त्रालय मातहतका विभिन्न निकायहरूमा समेत व्यापक दरबन्दी हेरफेर र कटौती गरिएको छ । निजामती र शिक्षक किताबखानाबाट १–१ जना सहसचिवको दरबन्दी घटाइएको छ भने सहकारी विभाग र तालिम केन्द्रलाई एकीकृत गरी ‘सहकारी रजिस्ट्रारको कार्यालय’ बनाउँदै ५५ बाट घटाएर ३७ दरबन्दी कायम गरिएको छ ।
मन्त्रिपरिषद्बाट स्वीकृत यो नयाँ ‘दरबन्दी तेरिज’ राष्ट्रिय निजामती किताबखानामा दर्ता हुने क्रममा छ ।
यता नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको दरबन्दी तेरिज पनि स्वीकृत भइसकेको छ, जहाँ १ सचिव र ३ सहसचिवसहित कुल ९० जनाको दरबन्दी कायम गरी दर्ता प्रक्रिया द्रुत गतिमा अघि बढाइएको छ ।




















