Logo

१२ असार, काठमाडौं । सुनसरीको देवानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि उत्पन्न तनाव राजमार्ग क्षेत्रतिर मोडिएको छ ।

देवानगञ्ज क्षेत्रको स्थिति बिस्तारै सामान्य बन्दै गए तापनि सुनसरी र मोरङका विभिन्न स्थानहरूमा आन्दोलन चर्किएको छ । प्रदर्शनकारीहरू घरेलु हतियारसहित सडकमा उत्रिएर बजार बन्द गराउनुका साथै सुनसरीको पकलीदेखि कोशी ब्यारेजसम्मको पूर्व(पश्चिम राजमार्गमा ठाउँ–ठाउँमा टायर बालेर यातायात पूर्ण रूपमा अवरुद्ध पारेका छन् ।

स्थितिलाई नियन्त्रणबाहिर जान नदिन र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले इटहरीबाट पश्चिम जाने सवारी साधनहरूलाई रोकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले जनाएका छन् ।

हाल सुनसरीको सदरमुकाम इनरुवामा प्रदर्शन जारी छ भने दुहबीमा बिहान सद्भाव र्‍याली निकालिएको छ । यता मोरङको राजधानी विराटनगरमा पनि सम्भावित जोखिम र असुरक्षाका कारण स्थानीय व्यवसायीहरूले बिहानैदेखि बजार पसल बन्द गरेका छन् ।


सम्बन्धित समाचार