१२ असार, काठमाडौं । पूर्वी पहाडी जिल्ला पाँचथरमा बर्खायाम सुरु भएसँगै बाढी र पहिरोको जोखिम तथा सन्त्रास पुनः दोहोरिएको छ ।
पछिल्ला वर्षहरूमा वर्षाको ढाँचा परिवर्तन भएसँगै मानवीय क्षतिसँगै कृषि, पशुपालन र भौतिक पूर्वाधारमा ठूलो असर पुगिरहेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्याङ्कअनुसार पछिल्लो पाँच आर्थिक वर्षमा बाढीपहिरोका कारण ४८ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन् ।
यस अवधिमा ८८९ परिवार प्रभावित भएका छन् भने ३७६ परिवार पूर्ण रूपमा विस्थापित बन्न पुगेका छन् । यस वर्ष पनि फालेलुङ र याङवरक गाउँपालिका उच्च जोखिममा परेका छन् । फालेलुङ–५ लुङ्मादिनमा जमिन भासिएर पहिरो जाँदा चार परिवार विस्थापित भई स्थानीय विद्यालयमा शरण लिन बाध्य भएका छन् ।
मानवीय क्षतिका अतिरिक्त बाढीपहिरोले जिल्लाको पूर्वाधार र कृषि क्षेत्रलाई समेत थिलथिलो बनाएको छ । पछिल्लो पाँच वर्षको अवधिमा बाढीपहिरोका कारण २ हजार ३९८ पशुचौपाया मरेका छन् भने खेतबारी र अलैँची खेतीमा निरन्तर क्षति पुग्दै आएको छ ।
त्यसैगरी मेची राजमार्ग र मध्यपहाडी लोकमार्गलगायतका सडक खण्डमा रहेका ३४ वटा मोटरेबल तथा झोलुङ्गे पुलहरू बाढीले बगाएको वा क्षति पुर्याएको छ । विशेष गरी हेवाखोलाको पुल बारम्बार बग्दा सर्वसाधारणको आवतजावतमा ठूलो समस्या हुने गरेको छ । जलवायु परिवर्तनका कारण विपद्को दर बढे पनि जोखिम न्यूनीकरणका लागि पर्याप्त दीर्घकालीन पूर्वतयारी हुन नसकेको स्थानीयको गुनासो छ ।




















