१२ साउन,वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध नगर्न देशभरिका सबै अस्पताललाई निर्देशन दिएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले उपचार सेवा नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेको हो।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा मंगलबार जारी विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका आक्रमणका घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले घाइते चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाउनुका साथै राष्ट्रिय ट्रमा सेन्टर पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ।
मन्त्री मेहताले घटनामा संलग्न दोषीविरुद्ध कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन आवश्यक समन्वय र पहल निरन्तर भइरहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक तथा संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने उल्लेख गर्दै सबै अस्पताललाई नियमित रूपमा सेवा सञ्चालन गर्न अनुरोध गरेको छ।
विज्ञप्तिमा स्वास्थ्यकर्मीले सुरक्षित, सम्मानजनक र निर्भय वातावरणमा सेवा दिन पाउनु उनीहरूको अधिकार भएको उल्लेख गर्दै उपचार सेवामा कुनै अवरोध नपुर्याई स्वास्थ्य सेवा निरन्तर प्रवाह गर्न सबै अस्पताल तथा सम्बन्धित पक्षसँग मन्त्रालयले अपिल गरेको छ।

यो पनि पढ्नुहोस :-
बिरामीको मृत्यु भएपछि नारायणी अस्पतालमा तोडफोड,आकस्मिक कक्षमा तनाव
नारायणी अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव, छानबिन गर्न समिति गठन
नारायणी अस्पताल घटनास् पाँच स्वास्थ्यकर्मी जिम्मेवारीबाट हटाइए,छानबिन गर्न समिति गठन
नारायणी अस्पताल घटनाको विरोधमा पोखरिया अस्पतालमा चिकित्सकको प्रदर्शन,स्वास्थ्यमन्त्रीको राजीनामा माग
नारायणी अस्पतालले भन्यो- सीसीटीभी फुटेजका आधारमा आक्रमणकारीको पहिचान गरी कारबाही गरियोस्
नारायणी अस्पतालका ३० भन्दा बढी चिकित्सकद्वारा सामूहिक राजीनामा,देशभर आकस्मिक बाहेकका सेवा ठप्प
नारायणी अस्पताल घटनालाई लिएर वीरगञ्जमा पुनः प्रदर्शन, चिकित्सकमाथि कारबाहीको माग गर्दै चक्काजाम




















