Logo

१२ साउन, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२६, चकरदहस्थित निर्माणाधीन पुलको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालिकाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार स्थानीय किशोरी ठाकुरका नातिनी एवं प्रभु ठाकुरका दुई छोरीहरू मृत अवस्थामा भेटिएका हुन् । मृत्यु हुनेमा ५ र ३ वर्षीया नाबालिका रहेका छन् ।

घटनाको जानकारी पाउनासाथ प्रहरी टोली पुगेर घटनास्थलको प्रारम्भिक जाँच तथा मुचुल्का तयार पारेको छ। दुवै बालिकाको शव परीक्षण (पोस्टमार्टम) का लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीका अनुसार निर्माणाधीन पुलको जग खन्दा बनेको गहिरो खाल्डोमा वर्षाको पानी जमेको थियो । निर्माणस्थल वरपर सुरक्षाका लागि कुनै जाली, बार वा सचेतना मूलक सङ्केत नराखिएकाले खेल्ने क्रममा बालिकाहरू खाल्डोमा खसेर दुर्घटना भएको आशङ्का गरिएको छ ।

विकास निर्माणका नाममा खनिएका खाल्डाखुल्डीलाई वर्षौंसम्म असुरक्षित छाडिदिने निर्माण व्यवसायी र सम्बन्धित निकायको गम्भीर लापरवाहीका कारण अनाहकमा अबोध बालिकाहरूले ज्यान गुमाउनुपरेको भन्दै स्थानीयवासीले तीव्र आक्रोश व्यक्त गरेका छन् ।

प्रहरीले घटनाको वास्तविक कारणबारे थप अनुसन्धान अघि बढाएको र कानूनी प्रक्रिया जारी रहेको जनाएको छ ।


सम्बन्धित समाचार