Logo

१२ साउन, ललितपुर । ललितपुरको महाँकाल गाउँपालिकामा एसओएस बालग्रामका कर्मचारी सवार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य पाँच जना कर्मचारी घाइते भएका छन् ।

सोमबार साँझ महाँकाल गाउँपालिका–३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बीएए ४६३९ नम्बरको स्कार्पियो जिप महाँकाल गाउँपालिका–२ स्थित कटनभञ्ज्याङमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कार्पियो चालक काठमाडौँको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारीको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको छ । उक्त दुर्घटनाग्रस्त जिप एसओएस बालग्राम सानोठिमी, भक्तपुरको रहेको र त्यसमा कार्यालयका कर्मचारीहरू सवार रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। जिपमा चालकसहित कुल ६ जना सवार थिए ।

दुर्घटनामा घाइते भएका अन्य पाँच जनामध्ये चार जनाको ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा र एक जनाको महाँकाल गाउँपालिका–२ मानिखेल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

घाइते हुनेहरूमा काठमाडौँको कोटेश्वर निवासी ३९ वर्षीया सस्मिता खतिवडा, नवलपरासी गैँडाकोट घर भई हाल काठमाडौँ बस्दै आएका ३५ वर्षीय भरत पौडेल, बर्दिया घर भई हाल काठमाडौँ बस्दै आएकी ३६ वर्षीया डिना सोनाहा, नुवाकोट घर भई काठमाडौँ बस्ने २६ वर्षीय देवेन्द्रराज पाण्डे र काठमाडौँको कीर्तिपुर–५ का ३९ वर्षीय निशान महर्जन रहेका छन् ।

उपचाररत सबै घाइतेहरूको अवस्था सामान्य र खतरामुक्त रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै