Logo

१७ जेठ,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा सेवा लिन आउने सुत्केरी महिलाले स्तनपान कक्षको अभावमा समस्या झेल्नु परेको छ । करिव ७ करोडको लागतमा कार्यलयको सुविधा सम्पन्न नयाँ भवन बनाईए पनि त्यसमा स्तनपान कक्षको भने ब्यवस्था नहुदाँ सुत्केरी महिलाले समस्या खेप्नु परेको हो ।

नागरिकता, पासपोर्ट, नाता प्रमाणीत लगायतका सेवा लिन बालबालिका लिएर कार्यलयमा आउने महिलाले बच्चालाई दुध खुवाउन असहज महसुस हुने गरेको बताएका छन् । प्रचण्ड गर्मीमा कामको लागि लाईन बसेर समस्या हुने गरेकोमा अर्कोपट्टी बच्चालाई नै जथाभावी बसेर स्तनपान गराउदाँ झनै कठिनाई र असहज महसुस हुने सेवाग्राहीको गुनासो छ ।

नागरिकता बनाउन आएकी पर्साको पोखरिया नगरपालिका– ५ की २२ वर्षिया रिमा पटेलले स्तपान कक्षको अभावमा निकै समस्या झेल्नु परेको गुनासो गर्नुभयो । उहाँका प्रचण्ड गर्मीमा दुधेबालक बोकेर दुईदिनदेखि धाईरहदाँ समेत न त काम नै भएको न त स्तनपान कक्षको ब्यवस्था नै गरिएको छ भन्दै गुनासो गर्नुभएको छ ।

त्यस्तै वीरगंज वडा नं. ११ रानीघाट निवासी २३ वर्षिया ललिता देवीले समेत आफूहरु नागरिकता लिन लाईनमा बसेको र बच्चालाई भने कार्यलय अगाडिको छहारीमा राखेको काम गराईरहेको बताउनुभयो । उहाँले काम नहुदाँको रिस एकातिर राख्दै गर्मीका कारण बच्चालाई दुध राम्रोसँग सेवन गराउन नसकेको जानकारी दिनुभयो ।

स्तनपान कक्षमा बालबालिकाका लागि खेल्न, सुत्न र बस्नका लागि चाहिने सबै सामानको समेत उपलब्धता हुने गर्दछ । सार्वजनिक तथा निजी सङ्घसंस्थामा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने ऐनमा उल्लेख छ । तर पर्सा जिल्लाका अधिकांस सरकारी तथा गैरसरकारी संस्थामा यसको व्यवस्था गरिएको छैन । नयाँ बन्दै गरेका पूर्वाधारहरुमा समेत स्तनपान कक्षको ब्यवस्था नगरिएको प्रति महिला अधिकारकर्मीहरुले गुनासो गरेका छन् ।

स्तनपान नवजात शिशुको अधिकार र आमाको कर्तब्य भए पनि व्यवस्थित कक्ष सञ्चालन नहुँदा महिलाहरूले खुल्ला स्थानमा असहजरूपमा स्तनपान गराउनु पर्ने बाध्यता छ । यता पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले सेड निर्माणको काम हुदै गरेको र सो समयमा स्तनपान कक्षको ब्यवस्था गरिने आश्वासन दिनुभएको छ ।


सम्बन्धित समाचार