Logo

१८ असार,वीरगञ्ज । मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन । असारको तेस्रो सात्ता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब ९ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ भएको छ ।

समयमा वर्षा नहुदाँ यो प्रदेशको ९० दशमलव ४८ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिझ धनुषाका निमित्त कमलदेव कुशवाहाले जानकारी दिनुभयो । अहिलेसम्म मधेस प्रदेशमा सबैभन्दा बढी सप्तरी र सिरहामा १५÷१५ प्रतिशत र सबैभन्दा कम रौतहट, धनुषा, महोत्तरीमा पाँच÷पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको निमित्त निर्देशक कुशवाहाले बताउनुभयो ।

लामो समयदेखि वर्षा नहुँदा वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएरै भए पनि किसान धान रोपाइँ गरिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार सप्तरी र सिरहामा १५÷१५ प्रतिशत, सर्लाहीमा १२ प्रतिशत, बारामा १० प्रतिशत, पर्सामा ६ प्रतिशत मात्र धान रोपाइँ हुन भएको हो । पर्सामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ ।

त्यस्तै सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमा, सिरहामा ५४ हजार हेक्टरमा धान रोपाइँ हुने गरेको छ । त्यस्तै महोत्तरी जिल्लामा ४६ हजार पाँच सय हेक्टरमा, बारामा ४६ हजार २० हेक्टरमा, रौतहटमा ३८ हजार एक सय हेक्टरमा धान खेती हुने गरेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै धनुषामा ५९ हजार हेक्टरमा र सर्लाहीको ४६ हजार सात सय हेक्टरमा धान रोपाइँ हुन्छ । हालसम्म सप्तरीमा १० हजार दुई सय हेक्टर, सिरहामा आठ हजार एक सय हेक्टर, सर्लाहीमा पाँच हजार पाँच सय २० हेक्टर, बारामा चार हजार छ सय दुई हेक्टर, पर्सामा दुई हजार आठ सय २८ हेक्टर, रौतहटमा एक हजार ७५० हेक्टर, धनुषामा दुई हजार नौ सय र महोत्तरीमा दुई हजार तीन सय ७५ हेक्टर जग्गामा मात्र धान रोपाइँ हुन सकेको निमित्त निर्देशक कुशवाहाले जानकारी दिनुभयो ।

समयमा वर्षा नहुनु, ढिलो गरी धानको बेर्ना तयार भएको, ढिलाई गरी धान रोपाइँ गर्ने प्रवृत्तिलगायतका कारण अन्नको भण्डार मानिएको मधेस प्रदेशमा यस वर्ष निराशाजनक रुपमा धान रोपाइँ भएको उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार