Logo

३२ साउन, काठमाण्डौँ । भारतको हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण कम्तीमा ७१ जनाको मृत्यु भएको छ । हिमाञ्चल प्रदेशमा विनाशकारी वर्षापछि राज्यमा १३ जना अझै बेपत्ता छन् ।

दुई दिनमा जारी खोजी तथा उद्धार कार्यमा हिजो १२ जनाको शव फेला परेको थियो ।

भारी वर्षाका कारण काँगडा जिल्लामा बाँध भत्किने जोखिममा परेको छ । यसले तल्लो क्षेत्रमा बाढीको चिन्ता बढाएको छ । बाढीको जोखिममा परेका ८०० भन्दा बढी मानिसहरूलाई तल्लो इलाकाबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ र कठिन भूगोलमा बाढीको पानीमा फसेका करिब ८० जनालाई उद्धार गरिएको छ ।

भारतीय वायु सेनाका डुङ्गा र हेलिकप्टरहरू कठिन भू–भागहरूमा प्रभावितहरूको उद्धारका लागि सेवामा खटिएका छन् । हिमाञ्चल राज्यको राजधानी सिमलाका साथै मण्डी, कुल्लू र काँगडा जिल्ला पनि सबैभन्दा बढी प्रभावित भएका छन् ।

हालसम्म विपद्मा १०० अर्ब भारतीय रुपैयाँ बराबरको क्षति भएको छ । प्रभावित क्षेत्रमा संरचना पुनः निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने बताइएको छ । राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले पूर्वाधारको पुनर्निर्माणको कामलाई ूपहाड जस्तो चुनौतीू भनेका छन्।


सम्बन्धित समाचार