Logo

३१ भदौ,वीरगञ्ज । हेटौँडाको सञ्चो अस्पतालका २ जना डाक्टरलाई कुटपिट गर्नेलाई कानुनी दायरामा नल्याइएको विरोधमा आज देशरभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।

नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको हो ।
चिकित्सक संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ–आज (भदौ ३१ गते) देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिनेछ ।

सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीलाई यही भदौ २७ गते अस्पतालभित्रै पसेर बिरामीका आफन्तहरुले कुटपिट गरेको थियो। यही कुटपिटको विरोधमा संघले स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवाबाहेक सेवा ठप्प पारेको हो ।

संघ हिजो साँझ संघले एक विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको हो ।

मधेश प्रदेशमा पनि सबै ठप्प

बन्दको असर मधेश प्रदेशमा पनि उत्तिकै परेको छ । केन्द्रीय संघबाट आह्वान भएका कारणले मधेश प्रदेशको सबै जिल्लामा रहेका सरकारी तथा प्राइभेट अस्पतालको आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको नेपाल चिकित्सक संघको केन्द्रीय उपाध्यक्ष नीरज सिंह बतए । ‘यति गर्दा पनि संघको माग पूरा नभए,संघले फेरि थप आन्दोलनको घोषणा गर्नेछ,’उनले भने ।

मधेश प्रदेशका जनकपुर, बीरगन्ज, राजविराज, कलैया, गौर,सिराहा, मलंगवासहित सबै जिल्लाका सरकारी तथा निजी अस्पतालहरुमा आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प छन् ।

यही २५ साउनमा डेंगी रोगबाट संक्रमित हेटौंडा–१२ का राजेश प्रधानको मृत्युको विषयलाई लिएर आक्रोशित मृतक प्रधानका आफन्तले चिकित्सकद्वय डा. थापा र विडारीमाथि कुटपिट गरेका थिए।


सम्बन्धित समाचार