Logo

५ असोज,काठमाडौं । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादवले शिक्षकहरु आफ्नो अधिकार प्राप्तिका लागि सडकमा आउनु राज्यका लागि लाजमर्दो विषय भएको बताउनुभएको छ । आज बिहान पर्साबाट आन्दोलन गर्न राजधानी पुगेका शिक्षकहरुसँग अन्तरक्रिया गर्दै यादवले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले शिक्षकले आन्दोलन नगरेको भए सबै शिक्षकको घाँटी काटिने अवस्था रहेको बताउँदै शिक्षकको माग सम्बोधन गराउन आफु र आफ्नो पार्टी जसपा नेपाल तयार रहेको उद्घोष गर्नुभएको छ । उहाँले सरकारले ल्याउन लागेको शिक्षा विधेयक मुट्ठीभर मान्छेको स्वार्थमा ल्याउन लागिएको आरोप लगाउनुभयो । यो विधेयक कहाँबाट आयो ? ’, प्रश्न गर्दै उहाँले यो ऐन एन्जिओ र आइएन्जिओको स्वार्थमा आएको उल्लेख गर्नुभयो ।

नेपाल शिक्षक महासंघ पर्साको आयोजनामा काठमाडौंको एक होटेलमा भएको कार्यक्रममा पुर्व मन्त्री यादवले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुको बैठक राखेर समस्या समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । शिक्षक आन्दोलनको कारण राज्य नै भएको आरोप लगाउँदै सांसद यादवले आन्दोलनको समाधान पनि राज्यले नै गर्नुपर्नेमा जोड दिनुभयो ।

शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका सचिव विनोद गिरी लगायत पर्सेली शिक्षक अगुवाहरुको उपस्थिति थियो । कार्यक्रममा अध्यक्ष यादवले शिक्षकका माग र समस्याका विषयमा सांसद यादवलाई जानकारी गराउनुभएको थियो ।


सम्बन्धित समाचार