Logo

फाइल तस्विर

१३ पुस,काठमाडौँ । बालकुमारी क्षेत्रमा शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा दुईजनाको मृत्यु भएको छ।
ललितपुर प्रहरी श्रोतका अनुसार ग्वार्कोमा भौतिक तथा पूर्वाधार मन्त्री प्रकाश ज्वाला सवार सरकारी गाडी जलाइएपछि अवस्था तनावपूर्ण हुँदा झडप भएको थियो।

झडपका क्रममा घाइते भएका दुई युवाहरूमध्ये एकको किस्ट र अर्काको पाटन अस्पतालमा ज्यान गएको हो।

किस्टमा दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुदन रावतको ज्यान गएको हो। भक्तपुरमा बस्दै आएका उनी आन्दोलनका क्रममा घाइते भएका थिए।

त्यसपछि आन्दोलित युवाहरूले नै उनलाई किस्ट अस्पताल लगेका छन्। जहाँ चिकित्सकहरूले उनलाई गोली नलागेको बताए। उनको छातीमा रातो डाम देखिएको छ भने शरीरका अन्य भागमा पनि चोट पाइएको थियो।

त्यसैगरी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको पाटन अस्पतालमा ज्यान गएको छ।

गोली लागेपछि गम्भीर घाइते उनलाई उपचारका लागि पाटन अस्पताल पुर्याइएको थियो। जहाँ उनलाई चिकित्सकले मृत घोषित गरेका हुन्।

प्रहरीले अश्रुग्यास, गोली र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये डोटीका २२ वर्षीय युवक वीरेन्द्र शाहको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।


सम्बन्धित समाचार