Logo

१७ पुस,वीरगञ्ज । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेण्टर नेपालको स्थापना दिवस तथा प्रथम विधान सम्मेलन वीरगञ्जमा हुने भएको छ ।

नेपालको प्रमुख प्रवेशद्वार तथा आर्थिक र आद्योगिक नगरी वीरगञ्जमा आगामी माघ १३, १४ र १५ गते विधान सम्मेलन सहित स्थापना दिवस पनि मनाउने निर्णय यसअघि नै केन्द्रीय समितिको बैठकले गरेको हो ।

वीरगञ्जमा हुने विधान सम्मेलन र स्थापना दिवसको तयारीका लागि प्रेस सेण्टर नेपालका का अध्यक्ष सहितको पदाधिकारीको टोली वीरगञ्जमा आएर विभिन्न निकायहरुमा छलफल गरेको छ ।

प्रेस सेण्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ उपाध्यक्ष तथा मधेस प्रदेश इञ्चार्ज गोविन्द देवकोटा, उपाध्यक्ष तथा बागमती प्रदेश इञ्चार्ज लक्ष्मण खड्का, उपाध्यक्ष निर्मल ज्ञवाली र सचिवालय सदस्य अमृतराज उपाध्याय सहितको टोलीले वीरगञ्जमा आएर कार्यक्रम स्थलको अवलोकन सहित वीरगञ्ज महानगरपालिकाका मेयर राजेमान सिंह र पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालसँग छलफल गरेको छ ।

छलफलका क्रममा अध्यक्ष सापकोटाले वीरगञ्जमा विधान सम्मेलन र स्थापना दिवस मनाउन लागिएको जानकारी दिदै कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा कार्यकारी प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै आउने बताउनुभयो ।

प्रधानमन्त्रीकै उपस्थितिमा वीरगन्जमा विधान सम्मेलन र स्थापना दिवस मनाउने तयारी रहेको र देशको प्रमुख प्रवेशद्वार र आर्थिक तथा औद्योगिक राजधानीको उपमा पाएको वीरगन्जलको बृहत्तर विकासमा सेण्टरको तर्फबाट हुनसक्ने सहयोग र पहल गर्ने बताउनुभयो ।

महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगन्जलाई वैभव वीरगञ्ज बनाउने अभियानमा रहेको जनाउदै त्यसको लागि चौथो अंग सञ्चारक्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

उहाँले वीरगञ्जलाई संघीय सरकारले पनि उपेक्षा गरेकोले वीरगन्जले राजस्व संकलनमा पु¥याएको योगदानको आधारमा वीरगञ्जलाई बजेट उपलब्ध गराउनेतर्फ पहल गरिदिन आग्रह गनुभयो ।

छलफलमा सेण्टरका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटे मगर, पर्सा अध्यक्ष दीपक गौतम, सचिव शिवनाथ यादव लगायतको उपस्थिति रहेको थियो ।

त्यसअघि सेण्टरको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालसँग पनि छलफल गरेको थियो । भेटघाट तथा छलफलका क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भुषालले पर्सामा सरुवा भएप्छि प्रधानमन्त्री र गृहमन्त्रीले आफूलाई राजस्व संकलन, शान्ति सुरक्षा, सुशासन र मिटरब्याजका समस्यालाई प्राथामिकता दिएर काम गर्न निर्देशन गरेकोले सोही अनुसार योजना बनाएर आफूले काम शुरु गरेको जानकारी दिनुभयो ।

स्थानीय तहको संरचना पछि कर्मचारीहरुले आकर्षक कार्यालय र स्थानीय तह रोज्न थालेपछि कर्मचारीको अभाव भएर जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादनमा प्रभाव परेको बताउनुभयो ।

संघीय सरकारको प्रतिनिधि संस्था जिल्ला प्रशासन कार्यालय रहेको र देखिने गरी सरकारकले गरेका सकारात्मक कामहरु जिल्ला प्रशासन कार्यालयबाटै नागरिकमा प्रतबिम्वित हुने भएकोले सोही अनुसार काम भईरहेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा भएको भेटघाट तथा छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारी, शिव लम्साल, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज नीरज पिठाकोटे मगर, सचिव शिवनाथ यादव लगायतको सहभागिता रहेको थियो । केन्द्रको टोलीले प्रेस सेण्टर नेपाल पर्साको कार्य समितिसँग पनि छलफल गरेको छ ।


सम्बन्धित समाचार