Logo

२७ पुस,टीकापुर । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत भएका छन्। रेशमपत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन्। निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो।

चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए। पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। चौधरी सर्वसम्मत भएपनि घोषणा भने गरिएको छैन।

रेशम २०७२ को भदौमा कैलालीको टीकापुरमा भएको घटनामा मुछिएर जेल गएपछि २ वर्षअघि रञ्जिताले आफ्नै नेतृत्वमा निर्वाचन आयोगमा पार्टी दर्ता गरेकी थिइन्।

रेशम र रञ्जिता श्रीमान श्रीमती हुन्। रेशम तीनै तहको अदालतबाट टीकापुर घटनामा दोषी ठहर भएपछि जन्मकैदको सजाय भोगिरहेको अवस्थामा गत जेठ १५ गतेको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर छुटेका थिए।

महाधिवेशनबाट पार्टी अध्यक्षसहित एकजना सहअध्यक्ष, एकजना महासचिव, सातजना सचिव, सातजना उपाध्यक्ष, सातजना सहसचिव र एकजना कोषाध्यक्ष गरी ३३ पदाधिकारी चयन हुने बताइएको छ।


सम्बन्धित समाचार