Logo

३ चैत, काठमाडौं । नेपालमा संचालित ठूला बाणिज्य बैंकहरुमा कर्जा प्रवाहमा मौलाउदै गएको बेथितिका कारण अधिकांह बैंकहरु आर्थिक संकटमा पर्ने स्थिति देखिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) र संचालक समितिका अध्यक्षको मिलेमतोमा प्रवाह भएका कर्जा उठाउन नसक्ने स्थिति देखिएपछि देशकै प्रमुख बाणिज्य बैंक मध्येको एक कुमारी बैक संकटाउन्मुख अवस्थामा पुगेको छ । उक्त बैंकले महोत्तरी भंगाहाका दीनेशकुमार महतोलाई दिएको १ अर्व ८० करोड रुपियाँ डुब्ने अवस्थामा छ ।

ढल्केवरमा बसाई खोलासँगै जोडिएको एभरेष्ट वायर इन्डष्ट्रिजको नाममा महतोले विभिन्न बैंकसँग अर्वौ रुपियाँ कर्जा लिएका छन् । महतोको कुमारी बैकको अलवा अर्को ठूलो बाणिज्य बैंक हिमालयन बैंकसँग पनि करिव ६० करोड रुपैयाँ हाराहारीमा ऋण छ । यसबाहेक हिमालयनसँग मर्ज हुनुअघि नै सिभिल बैंकले पनि महतोलाई ऋण दिइसकेको थियो ।

महत्तोले दुवै बैंकबाट गरेर झण्डै अढाई अर्ब रुपैयाँ ऋण चलाएका छन् । जुन ऋणको लगभग डेढ वर्षदेखि साँवा ब्याज उठ्न छाडेको छ । कुमारी बैंकले त फागुन २१ गते सार्वजनिक सूचना जारी गर्दै महतोका सम्पत्ति लिलामीका लागि १५ दिने समय दिने सिलबन्दी बोलपत्र आह्वान नै गरिसकेको छ । हिमालयन बैंकले पनि लिलामीको प्रक्रिया चाँडै थाल्ने जनाएको छ ।

राजनीतिक प्रभाव र आर्थिक प्रलोभनका कारण बैंक अध्यक्ष र सिइओहरुले सर्वसाधारण जनताको पैसा दुरुपयोग हुनेगरी लगानी गर्दै आएको देखिन्छ । कुमारी बैंक अध्यक्ष अमित प्रताप राणाले कुमारी बैंकले गरेको लगानी र रिकभरीका विषयमा आफूलाई जानकारी नहुने बताए । उनले यसबारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसँग बुझ्न भने ।

यता कुमारी बैंकका कार्यकारी अधिकृत रामचन्द्र खनालले महतोको कम्पनी र उनलाई कालोसूचीमा राखेर ऋण असुली प्रक्रिया सुरु गरिएको बताए । लामो समयदेखि कर्जा असूली हुन नसक्दा सुचना निकालेर घितो लिलाममा लागेको उनको भनाई छ ।

यद्यपि, उनको सबै श्रीसम्पत्ति बेच्दा पनि बैंकको आधा ऋण असुली हुने सम्भावना छैन । कारण : भनसुन र आर्थिक प्रभावमा परेर महतोलाई कर्जा प्रवाह गरेको देखिन्छ । आर्थिक मन्दीको कारण चल अचल सम्पती विक्रि हुने स्थिती पनि देखिदैन । यस्तो अवस्थामा कुमारी बैंकले लगानी गरेको करिव दुई अर्व रुपियाँ डुब्ने खतरा बढेको छ ।

महतोको कुनै पनि कम्पनीले वार्षिक वित्तीय विवरण कर कार्यालयमा बुझाएका छैनन् भने मूल्य अभिवृद्धि कर (भ्याट) समेत बुझाउन छाडेका छन् । महतोका लगभग सबै कम्पनी आर्थिक वर्ष २०७८/७९ यता “नन्फाइलर” का रुपमा बसेका छन् ।

यस्तो छ दिनेश महतोको लिला

महोत्तरीको एउटा सामान्य परिवारमा जन्मिएका दीनेशकुमार महत्तोको व्यवसायिक यात्रा बिजुलीका सामानको पसलबाट सुरु भएको थियो । उनले लामो समय मुम्बईमा बिजुली सम्बन्धि “मेकानिक“ को काम गरेका थिए । त्यही अनुभवले उनी नेपालमा बिजुलीको सानातिना काम गर्न थाले ।

काम सिकेपछि उनले ढल्केवरमा २०७२ सालतिर करिश्मा इलेक्ट्रिकल्स नामको पसल सुरु गरेका थिए ।

बिजुलीको पसल चलाउँदा चलाउँदै उनले २०७५ सालमा अल्फा वायर नामको उद्योगमा हात हाले । हिमालयन बैंकको बर्दिबास शाखाको ऋणमा उद्योगमा हात हालेका उनले त्यसपछि ऋण बढाउँदै लैजान थाले ।

उनले ऋण व्यापार बढाएर होइन्, उद्योग थपेर बढाउन थाले । ढल्केवरमा राजमार्गभन्दा धेरै नै भित्र बसाई खोलाको बगरमा उनको एक बिघा जग्गामा अल्फा वायर छ ।
अल्फा वायर चलाउन थालेपछि त्यही खोलाकै बगरमा रहेको अर्को एभरेष्ट उद्योग उनले सर्राफ समूहसँग खरिद गरे । एभरेष्टसँगै उनले रिलायन्स केबल लिए भने २०७७ सालमा देवी इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स फेब्रिकेसन कम्पनी पनि बनाए ।

उनीसँग करिश्मा इलेक्ट्रोनिक्स मात्रै छैन्, तिनकुने हार्डवेयर, मिथिला हार्डवेयर पनि छ । त्यसैगरी महोत्तरीमा अजात पेट्रोलपम्प र बर्दिवासमा कलश पेट्रोल पम्प पनि उनले नै चलाउँछन् ।

तर, अहिले महतोको कुनै पनि कम्पनीले वार्षिक वित्तीय विवरण कर कार्यालयमा बुझाएका छैनन् भने मूल्य अभिवृद्धि कर (भ्याट) समेत बुझाउन छाडेका छन् । महतोका लगभग सबै कम्पनी आर्थिक वर्ष २०७८/७९ यता “नन् फाइलर“का रुपमा बसेका छन् ।

व्यावसायिक कारोबार सुरु गरेको आधा दशकमा एक दर्जन कम्पनी भने महत्तोले ऋण बढाउनका लागि बनाएको देखिन्छ । उनले आफ्नै कम्पनीहरुबीच आन्तरिक कारोबार गर्छन्, त्यो कारोबारको आधारमा बैंकबाट ऋण लिन्छन् ।

जस्तो आर्थिक वर्ष २०७८/७९ मा रिलायन्स केवलले अल्फा वायरबाट ९ करोड १७ लाख रुपैयाँको सामान खरिद ग¥यो भने २८ करोड ६८ लाख रुपैयाँको सामान बिक्रि ग¥यो । त्यही रिलायन्सले देवी इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स फेब्रिकेसनबाट ४ करोड ५५ लाख रुपैयाँको सामान खरिद ग¥यो ।

रिलायन्स केवलले नै उक्त आर्थिक वर्षमा एभरेष्ट वायरसँग ९ करोड ४० लाख रुपैयाँको सामान खरिद ग¥यो भने ६ करोड ३२ लाख रुपैयाँको सामान बिक्री ग¥यो। त्यसैगरी करिश्मा इलेक्ट्रिकल्सलाई ६० लाख र तिनकुने हार्डवेयरलाई ७८ लाखको सामान बिक्री ग¥यो ।

यस्तै अवस्था छ आर्थिक वर्ष २०७७/७८ मा पनि। एभरेष्ट वायरले अल्फा वायरसँग ३६ करोड ८३ लाख रुपैयाँको खरिद ग¥यो भने २० करोड ५२ लाख रुपैयाँको बिक्री गर्यो। एभरेष्टले नै करिश्मा इलेक्ट्रिकल्सलाई १ करोड ७७ लाख रुपैयाँको सामान बिक्री गर्यो ।

यी केही उदाहरण मात्र हुन्, अधिकांश कम्पनीको झण्डै ८० देखि ९० प्रतिशतसम्मको कारोबार महतोका आफ्नै कम्पनी भित्र छ ।

त्यसभन्दा बाहिर भएका कारोबार पनि तीन÷चार वटा ठूला पार्टीसँग मात्र देखिन्छ । जस्तो, महतोको कम्पनी एभरेष्ट वायरले आर्थिक वर्ष २०७८÷७९ मा जानकी केवल इन्डष्ट्रिजलाई १७ करोड ६८ करोड रुपैयाँको सामान बेचेको छ ।

उक्त वर्ष कम्पनीको ४७ करोडको खरिदमा अल्फा वायर एक्लैसँगबाट ३६ करोड रुपैयाँ छ । बिक्रीको ६१ करोडमध्ये अल्फा सहित अन्य आफ्ना कम्पनीसँग ४५ करोडको हाराहारी छ ।

बैंकहरुले महतोलाई व्यवसायिक क्षमता वा विस्तारमा ऋण दिएका होइनन्, उनीसँग ऋणलाई खाम्ने गरि धितो पनि छैन, न त स्टक नै । जस्तो १ अर्ब ८० करोड रुपैयाँभन्दा माथिको ऋण भएको कुमारीले तीन वटा उद्योग अल्फा, रिलायन्स र देवी इलेक्ट्रिकल्स तथा अजात पेट्रोलपम्प लिलामीमा राखेको छ । त्यसैगरी महतो र महतोकी श्रीमतीका नाममा रहेका महोतरी र धनुषाका गरी जग्गा लिलामीमा राखेको छ ।

लिलामीमा राखिएका उद्योगहरुसँग ठूला मेसिनरी औजारहरु पनि छैनन्, जहाँ जग्गा छन्, ती पनि खोला किनारामा मूल्यविहीन देखिन्छन्। मेसिनरी र उद्योगबाट पैसा आउने अवस्था छैन्, कम्पनी र व्याक्तिका नाममा रहेका कुल पाँच बिघा जग्गा लिलामीबाट कति पैसा उठ्ला ?

अल्फा वायरको यही हिसाबकिताबका आधारमा रजिष्टर्ड अडिटर एलबी मिश्रा एण्ड एशोसिएट्सले २०७९ असारमा कम्पनीले एक अर्ब ऋण लिन सक्ने सिफारिस गरेको थियो ।
उधारोको उठ्नुपर्ने ७५ करोड, ४३ करोडको स्टक, १९ करोडको एडभान्स र प्रिपेड गरेर १ अर्ब ३८ करोड रुपैयाँको स्रोत कम्पनीमा रहेको भन्दै १ अर्ब ३ करोड रुपैयाँ वर्किङ क्यापिटल ऋण लिन सक्ने सिफारिस त्यो रजिष्टर्ड अडिटर फर्मले गरेको छ ।

तर त्यतिबेला फिजिकल भेरिफिकेसनमा गएका एक जना करका अधिकारी भन्छन्, “कम्पनीमा ४३ करोड होइन ४३ लाख रुपैयाँको पनि स्टक थिएन ।“

जुन कम्पनीको फिजिकल भेरिफिकेसनमा स्टक छैन्, जुन कम्पनीको अधिकांश कारोबार आफ्नै समूहभित्र घुमाइएको छ, त्यस्ता कम्पनीलाई अर्बौं ऋण दिइएको छ,“ ती करका अधिकृत भन्छन्, “यसमा बैंकहरुको बदमासी देखिन्छ । कसले किन र कति ऋण प्रवाह गरेको त्यसको छानबिन गर्नुपर्छ ।“

एउटै व्यक्तिले खोलेका ८/१० वटा कम्पनी जसले एउटा कम्पनीले अर्को कम्पनीको नाउँमा कारोवार गरेको देखिन्छ । फेक कारोवार गर्ने कम्पनीको नाउँमा कुमारी बैकले प्रवाह गरेको कर्जाले बैंकका जिम्मेवार अधिकृतको संलग्नता हुन सक्ने अवस्था छ ।

कुमारी बैंक भन्दा पहिलो दिनेश महतोले दुई वटा बाणिज्य बैंकबाट कर्जा लिएको अवस्थामा लगानी डुब्ने अवस्थामा कर्जा प्रवाह गर्ने बैंकका सिइओ र संचालक समितिका अध्यक्ष माथि छानविन गरिनुपर्ने बचत कर्ताहरुको भनाई छ ।

वाणिज्य बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंक समेत कुमारी बैंकले गलत ठाउँमा लगानी गरेको देख्दा देख्दै पनि कुनै चासो नराख्नुले यसमा राष्ट्र बैंकका उच्च तहका अधिकारीको समेत मिलेमतो प्रष्ट देखिन्छ ।


सम्बन्धित समाचार