Logo

२६ चैत,वीरगञ्ज । पर्साबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१६ बोखारचोक स्थित सडकखण्डबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–२० बस्ने २१ वर्षका विष्णु पटेल र सोही ठाउँका २० वर्षीय राजन यादव रहेका छन् ।

भारतबाट वीरगञ्जतर्फ आउदै गरेका सवारीसाधनहरूमा प्रतिबन्धित लागुऔषध ओसारपसार भइरहेको सूचना आएको थियो । सोही सूचनाको आधारमा मधेश प्र.०३–००१ च ७०९८ नम्बरको पिकअपलाई रोकेर जाँच गर्दा फल्स सिलिङ बनाई फल्सभित्र कालो टेपले बेरिएको अवस्थामा भारी परिमाणमा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध नुरफिन १२०० पिस, फेनारगन १२०० पिस, डाइजेपाम १२०० पिस, ओनेरेक्स १०० एमएलको ५० बोत्तल, टेपनटाडल १०० एमजीको ३९ पत्तामा ३९० पिस ट्याब्लेट फेला पारेको प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जनाए ।

पक्राउ परेकाहरुमाथि लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।


सम्बन्धित समाचार