११ वैशाख, वीरगञ्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा आज विहान आगलागी भएको छ ।
स्थानिय महेन्द्र सहनीको फुसको घरमा आगलागी भएर छिमेकीको घरमा समेत क्षति पुगेको छ । रातमा सुतेको बेला आज करिब ३ बजे अचानक विधुत सर्ट भई आगलागी भएको सहनीले बताए ।
सहनीको घरसँगै टाँसिएर रहेका अरु छिमेकीका ६ घर समेत जलेको छ । आगलागीबाट अन्दाजी ५३ लाख ९० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट महेन्द्र सहनी, मैना सहनी, वीरेन्द्र सहनी, तुफान सहनी, फुलदेव सहनी, अभय सहनी र अदालत साहको घर पूर्णरूपमा जलेर नष्ट भएको हो ।
सातवटै घरमा रहेको अन्नपात, लत्ताकपडा, सुनचाँदीका गरगहना र चौपाया जलेर नष्ट हुदाँ अन्दाजी ५३ लाख ९० हजार रूपैयाँ बराबरको क्षति भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
आगलागीबाट घरसहित अन्नबालि, लत्ताकपडा, सुनचाँदी लागायतका समान जल्दा महेन्द्र सहनीको १० लाख ६३ हजार, मैना सहनीको ८ लाख ६८ हजार, वीरेन्द्र सहनीको ४ लाख ८० हजार, तुफान सहनीको ११ लाख ६० हजार, फुलदेव सहनीको ४ लाख १६ हजार, अभय सहनीको ७ लाख ८० हजार र अदालत साहको ६ लाख २३ हजार रुपैया बराबरको क्षति भएको अनुमान गरिएको डिएसपी थापले बताए ।
वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकाको दमकल, प्रहरी र स्थानियको सहयोगमा बिहान ५ बजेतिर आलगाली पुर्ण रुपमा नियन्त्रणमा आएको स्थानियले बताएका छन् ।