Logo

१८ वैशाख,वीरगञ्ज । वैशाख लागेपछि उकालो लागेको वीरगञ्जको तापक्रम, तेस्रो हप्तामा आउँदा समेत निरन्तर बढ्दै गएको छ । यसरी निरन्तर बढ्दो गर्मीका कारण मधेश प्रदेशका जिल्लाका सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनेको छ ।

चर्को घाम तथा तातो हावा चल्दा यहाँका नागरिक घरबाट निस्कनै कठिन भएको बताउँछन् । पछिल्लो दुई साता यता बढेको अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भएको हो । वीरगञ्जको औसत तापक्रम ३५–४० डिग्री सेल्सियसमा छ । आज वीरगञ्जको तापक्रम यो वर्षकै सबैभन्दा धेरै ४३ डिग्री मापन भएको छ ।

चर्को गर्मी र तातो हावा ‘लू’ चल्दा बाहिर काम गरेर जीविका चलाउनेहरूलाई हम्मेहम्मे परेको छ । अहिले तराई मधेशका जिल्लामा उखरमाउलो गर्मीको कारण बालबालिकादेखि वृद्ध वृद्धासम्म प्रभावित छन् । गर्मी बढ्दै गएपछि बजार समेत सुनसान देखिएको छ ।

वैशाखको पहिलो सातादेखि तापक्रम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जलवायु परिवर्तनको प्रभावका कारण गर्मी अत्यधिक बढेको हो । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जस्थित सरकारी तथा निजी अस्पतालहरु, क्लिनिक लगायत ग्रामीण भेगमा स्वास्थ्य सस्ंथाहरुमा बिरामीहरुको सङख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।

यति बेला गर्मीका कारण हुने स्वास्थ्य समस्या लिएर आउने बिरामीको भने संख्या ह्वात्तै बढेको चिकित्सकहरुले जनाएका छन् । उखरमाउलो गर्मी र तातो हावा चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने, वान्ता हुने लगायतका असर देखा पर्छ ।

तातो हावाबाट बच्नका लागि गर्मीको समयमा सकेसम्म घरमै बस्न नारायणी अस्पतालका फिजिसियन डा. सरोजरोशन दासले आग्रह गरे । गर्मीबाट जोगिन पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउन, छाता र पानी लिएरमात्र घरबाहिर निस्किन उनको सुझाव छ ।

यसैबीच गएको वर्ष जसरी नै यस वर्ष पनि वीरगन्जमा खानेपानीको समस्या सुरु भएको छ । वीरगञ्जका केही स्थानहरुमा खानेपानीको मुहान सुक्दै जाँदा यस्तो समस्या देखिएको हो । गएको वर्ष पनि खडेरीको समयमा वीरगन्जमा पानीको समस्या देखिएको थियो । यस वर्ष उक्त समस्याले विकराल रुप लिने सक्ने अनुमान गरिएको छ ।


सम्बन्धित समाचार