Logo

१८ वैशाख,काठमाडौं । नक्कली भ्याट बिल बनाएको आरोपमा मुद्दा खेपेका बाराका उमाशंकर रायभरले सफाइ पाएका छन् ।

घटनामा संलग्न नै नभएको अवस्थामा नक्कली भ्याट बिल बनाएको आरोपमा उमाशंकरमाथि मुद्दा चलेको थियो । सोही मुद्दामा उनलाई उच्च अदालत पाटनले सफाइ दिएको हो ।

न्यायाधीशहरू दिपेन्द्र अधिकारी र डिल्लीरत्न श्रेष्ठको इजलासले नक्कली भ्याट बिल बनाउने काममा संलग्न नभएको ठहर गर्दै उनलाई सफाइ दिएको हो । उनको कागजात प्रयोग गरेर नक्कली भ्याट बिल बनाउने समूहले कम्पनी खडा गरेको थियो । उनकै नाममा स्थापित कम्पनीबाट नक्कली कारोबार भएको थियो ।

नक्कली भ्याट बनाउने काममा उमाशंकर संलग्न भएको दाबी गर्दै राजस्व अनुसन्धान विभागले उनीविरुद्ध २८ करोड रुपैयाँ विगो मागदाबी गरेको थियो । ११ महिना थुनामा परेका उनी पछि सर्वोच्च अदालतको आदेशपछि धरौटीमा छुटेका थिए ।

घटनामा संलग्न नै नभएको निर्दोष व्यक्तिलाई फसाएर झुटो मुद्दा दायर भएको थियो, आज अदालतले उनलाई सफाइ दिएको उमाशंकरको कानूनी प्रतिरक्षामा संलग्न अधिवक्ता राधिका खतिवडाले जानकारी गराइन् ।


सम्बन्धित समाचार