Logo

२३ वैशाख,वीरगञ्ज । मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा झण्डै ४५ करोड मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठवटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ ।

कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार चालु वर्षको साउनदेखि बैशाख १५ गतेसम्म प्रदेशमा आगलागाीबाट ४४ करोड ५४ लाख ६४ हजार ४३२ मूल्य बराबरको क्षती भएको छ । धनुषामा आठ करोड ४९ लाख १८ हजार, महोत्तरीमा चार करोड १४ लाख १६ हजार, सर्लाहीमा चार करोड ४१ लाख ७५ हजार, सप्तरीमा पाँच करोड ४१ लाख २३ हजार, सिरहामा आठ करोड २० लाख ४० हजार, रौतहटमा चार करोड ९८ लाख १९ हजार, बारामा चार करोड १७ लाख ६ हजार र पर्सामा पाँच करोड ७२ लाख ६२ हजार मूल्य बराबरको सम्पत्ती जलेर नष्ट भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुभाष बोहोराले जनाए ।

उनका अनुसार प्रदेशको सिरहामा सबैभन्दा बढी तथा सर्लाहीमा सबैभन्दा कम आगलागीका घटना भएका छन् । सो अवधिमा सिरहामा दुई सय १६ तथा सर्लाहीमा एक सय छ आगलागीका घटना भएका छन् ।

यसैगरी सप्तरीमा एक सय ७२, धनुषामा एक सय ४५, महोत्तरीमा एक सय ३०, रौतहटमा एक सय ८३, बारामा एक सय २१ तथा पर्सामा एक सय २८ आगलागीका घटना भएकोे विवरणमा उल्लेख गरिएको छ ।

लामो समयदेखि आकासे पानी नपरेको तथा तातो हावा र बढ्दो गर्मीका कारण आगलागीका घटना अत्याधिक भएको प्रहरीको अनुमान रहेको छ । साथै मानवीय लापरबाही तथा प्राविधिक समस्याले पनि आगलागीका घटना तथा क्षति भएको हो ।

अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहकाले आगलागीबाट सुरक्षित तथा सर्तक रहनका साथै पीडितलाई सहयोगका लागि अनुरोध गरिएको छ ।


सम्बन्धित समाचार