Logo

३२ जेठ, वीरगञ्ज ।

विश्व रक्तदाता दिवसको अवसरमा नारायणी एफ.एम. सहित १५६ संस्था र व्यक्ति सम्मानित भएका छन् । ब्लड डोनर्स एशोसिएसन पर्सा शाखाले कार्यक्रमको आयोजना गरि नारायणी एफ।एम। सहित १५६ संस्थालाई सम्मान गरेको छ ।

ब्लड डोनर्स एशोसिएसन पर्सा शाखाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेलले सम्मानित संस्था र व्यक्तिहरूलाई सम्मान गर्नुभएको हो ।

ब्लड डोनर्स एशोसिएसन पर्सा शाखाका अध्यक्ष शत्रुधन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा २०८० बैशाखदेखि चैतसम्म १ बर्षमा ५० पोका भन्दा बढी रगत संकलन गर्ने नारायणी एफ.एम १०३.८ मेगाहर्ज सहित ८१ वटा संस्था,

बिरामीलाई आवश्यकता पर्दा रक्तसञ्चार केन्द्रसँग सम्झौता गरेर निःशुल्क रगत उपलब्ध गराउने २० संस्था र रक्तसञ्चार केन्द्रमा रगत अभाव भएपछि आकस्मिक रुपमा रक्तदान गर्ने ५५ व्यक्ति गरी गरी १५६ लाई सम्मानपत्र सहित सम्मान गरिएको छ ।

कार्यक्रममा सबैभन्दा धेरै रगत संकलन गर्ने संस्थालाई पनि सम्मान गरिएको ब्लड डोनर्स एशोसिएसन पर्साका सचिव अरविन्द सिंहले जानकारी दिए ।

कार्यक्रममा रेडक्रस पर्साका सभापति विरेन्द्रराज कडेँल, नारायणी अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डाक्टर खालिद हसन, प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद जयसवाल, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल, बहुदरमाई नगरपालिकाकी उपप्रमुख सुष्मा कुश्वाहा,

नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतको उपस्थिति रहेको थियो । संस्थाका सचिव अरविन्द सिंहले सहजीकरण गरेको कार्यक्रममा स्वागत संस्थाकी सदस्य रोशनी श्रेष्ठले गरेकी थिईन् ।

रक्तदान गर्ने भन्दा रगत लिने बढी

वीरगन्जमा रक्तदान गर्नेहरु भन्दा रगत लिनेहरुको संख्या धेरै देखिएको छ । ब्लड डोनर्स एशोसिएसनले आज आयोजना गरेको सम्मान कार्यक्रममा दिएको जानकारी अनुसार २०८० बैशाख देखि २०८० को चैतसम्म एकबर्षको अवधिमा १४ हजार ५ सय ८३ पिन्ट रगत संकलन भएको छ ।

सोही अवधिमा रक्तसञ्चार केन्द्र्र वीरगन्जबाट १६ हजार ३३० पिन्ट रगत वितरण गरिएको छ । यसरी रगत दिने भन्दा रगत लिने एकहजार ७ सय ४७ जना बढी रहेका छन् ।

उनीहरुलाई आकस्मिक रक्तदान गरेर रगत उपलब्ध गराईएको ब्लड डोनर्स एशोसिएसन पर्साका सचिव अरविन्द सिंहले जानकारी दिए । रक्तदान गर्नेहरु सबैभन्दा बढी पुरुष र रगत आवश्यकता पर्ने सबैभन्दा बढी महिला रहेका छन् ।

एकबर्षको अवधिमा १३ हजार ६ सय १४ जना पुरुषले रक्तदान गरेका छन् । भने, यो अवधिमा रक्तदान गर्ने महिलाहरु जम्मा १०२९ जना मात्रै रहेका छन् ।

त्यसैगरी ६ हजार ८० जना पुरुषलाई मात्रै रगत आपूर्ति गरिएको छ । भने, १० हजार २५० जना महिलालाई रगत आपूर्ति गरिएको कार्यक्रममा जानकारी गराईएको थियो ।

विश्व रक्तादाता दिवसमा ६९ पोका रगत संकलन

वीरगन्जको तीन छुट्टाछुट्टै स्थानमा आयोजना गरिएको कार्यक्रममा ६९ पोका रगत संकलन भएको छ ।

अत्यधिक गर्मीले अस्पतालहरुमा बिरामीको संख्यामा वृद्धि भएको र रगतको चरम अभाव हुन थालेपछि रक्त सञ्चार केन्द्रले आकस्मिक रक्तदानका लागि विभिन्न संघ संस्थाहरुलाई आह्वान गरेको छ ।

त्यहि आह्वान अनुसार वीरगन्जमा तीनस्थानमा आज आयोजना गरेको कार्यक्रममा ६९ जनाले रक्तदान गरेका हुन् । वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावास, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र र रेडियो वीरगन्जको संयुक्त आयोजनामा भएको कार्यक्रममा ५ जना महिला सहित ४२ जनाले रक्तदान गरेका छन् ।

त्यस्तै शौरभ फुड छातापिपराले आयोजना गरेको कार्यक्रममा १५ जना र इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंकले वीरगन्जको घण्टाघरमा आयोजना गरेको कार्यक्रममा १२ जनाले रक्तदान गरेका रक्त सञ्चार केन्द्र वीरगन्जका राजन श्रीवास्तवले जानकारी दिए ।


सम्बन्धित समाचार