Logo

२३ असार, काठमाडौं । देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण आएको बाढी–पहिरोमा परी पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ । यस्तै सात जना बेपत्ता छन् ।

मनसुन सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमतर्फ गइरहेकाले त्यसतर्फ बाढी र पहिरोको उच्च जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार शनिबार पहिरोमा पुरिएर स्याङ्जाका दुई जना, पर्वतका दुई जना, काठमाडौँका एक जना, काभ्रेका दुई जना, तनहुँका एक जना र दाङका एक जना गरी नौ जनाको मृत्यु भएको छ ।

यस्तै खोलाले बगाएर दाङमा एक जना, पर्वतमा दुई जना र दोलखामा एक जना गरी सात जना बेपत्ता भएको जनाइएको छ । पहिरोले पुरिएर तनहुँमा चार जना, गुल्मीमा एक जना र ओखलढुङ्गामा दुई जना गरी सात जना घाइते भएका छन् ।


सम्बन्धित समाचार