Logo

६ साउन,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधि सभामा आइतबार विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले सुशासन पनि सरकारको पाँच प्राथमिकतामध्ये एक भएको बताए ।

उनले भने, ‘एउटा खुलस्तै भन्न चाहन्छु दुनियाँका अगाडि, दुनियाँले सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहँदैनौँ, कसैलाई भ्रष्टाचार गर्न दिन्नौँ ।’

भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गर्ने उनले बताए ।

भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनु सरकारको प्राथमिकता भएको भन्दै उनले भने, ‘यसमा ढुक्क भए हुन्छ, कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानुन कारबाही अगाडि बढाउँछौँ ।’

प्रधानमन्त्री ओलीले अगाडि भने, ‘सहकारी पीडितका सम्बन्धमा उचित निर्णय लिने छौँ । जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौँ ।’

सुशासनका लागि स्टन्ट होइन, सही इन्टेन्ट चाहिने बताउँदै उनले भने, ‘यस सरकारले आफू अग्लो हुन अरूलाई होचो बनाउने कोसिस गर्ने छैन । आफू गोरो देखिन अर्कोको अनुहारमा हिलो छ्याप्ने काम पनि गर्दैन ।’


सम्बन्धित समाचार