Logo

८ साउन,वीरगञ्ज । ‘प्रहरी मेरो साथी’ यो नारा नेपाल प्रहरीको हो । देशभरमा जब प्रहरीप्रतिको नकारात्मक धारणा बन्दै गइरहेको थियो, यही बेला त्यसबखतको प्रहरी नेतृत्वले समाजसंग प्रहरीलाई घुलमिल गराउने उद्देश्यले ‘प्रहरी मेरो साथी’ को नारा ल्यायो ।

यो नाराको ध्येय धेरै हदसम्म पूरा पनि भयो । अर्थात् प्रहरी र समाजबिचको दूरी कम हुँदै गयो, एक आपसमा समन्वयको वातावरण बन्दै गयो । त्यो सिलसिला अझ पनि जारी नै छ, जसकारणले नै होला सामान्य भन्दा सामान्य समस्या आउँदा पनि व्यक्ति प्रहरीको ढोका घचघच्याउन पुग्छन्, किनकी उसलाई आसा हुन्छ– प्रहरीबाट न्याय पाइन्छ ।

तर यही प्रहरीले जब भुइँ मान्छेको सानो समस्याप्रति चासो राख्दैन् तब प्रहरी संगठनको बदनामी मात्र हुँदैन, कानुनबाट नै सर्वसाधारणको भरोसा उठ्न थाल्छ ।
यस्तै घटना भएको छ – पर्सा जिल्लामा । पर्सा प्रहरीमा आफ्नो बेचेको गाडीको पैसा फिर्ता गराउन फिरादपत्र लिएर त्यसको सुनुवाइ हुँदैन । अझ त्यहाँको डिएसपीबाट झनझन सेवाग्राहीले हप्कीदप्की खेप्नुपर्छ, जसका कारण पर्सा प्रहरीको सेवाप्रति एकजना डिएसपीको कारण भुइँ मान्छेको विश्वास उठ्न थालेको जनगुनासो छ ।

के हो घटना ?

यो समस्या हो, बीरगन्ज महानगरपालिका वडा नम्बर १७ का पन्नालाल प्रसादको । छोरालाई विदेश पढ्न पठाउनका लागि बेचेको २ वटा भाँडाको बसको पैसा समयमा नआएपछि उनलाई झनै चिन्ता भयो ।
बिक्रीनामाको कागजमा सहीछाप गरेर आफ्नो बेचेको २ वटा भाँडा बसको ४५ लाख रुपैयाँ तोकिएको भाखाभित्र नआउँदा त्यो पैसा निकाल्न मद्दतको हारगुहार माग्दै उनी प्रहरीकोमा पुगे ।

आफ्नो घटनाको बेलीविस्तार लगाएपछि सुरुमा प्रहरीले उनलाई ठाँडो उजुरी दिन लगायो । त्यसपछि छलफलको माध्यमबाट नसुल्झिएपछि सुरुमा ७ लाखको मुद्दा दर्ता ग¥यो, तर यो मुद्दामा मुख्य आरोपित भन्ने रौतहट बृन्दावन नगरपालिका ९ बस्ने शेष महबुब कानुनी कारबाहीबाट बाहिर रहे ।

त्यो कसरी भने बस खरिद गर्दा मुख्य व्यक्ति शेष महबुब भएपनि उनी अर्को व्यक्तिको नाममा चेक दिन लगाए तर आफू भने बिक्रीनामाको कागजमा हस्ताक्षर गरे ।
यही बिक्रीको नामाको कागजमा हस्ताक्षर गरेको आधारमा पीडितले मुख्य व्यक्ति महबुबलाई कानुनी दायरामा ल्याउन हारगुहार गर्दा डिएसपी दीपक भारतीबाट त्यसको बेवास्ता मात्र गरिएको छैन, पीडितलाई हप्काएर पठाउने गरिएको छ ।
हप्काउने मात्र होइन पीडितले जिल्ला सरकारी वकिलको कार्यालयबाट ठगी मुद्दामा आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन आएपनि डिएसपी भारतीबाट भने सिधै त्यसको इन्कार गरिएको पीडित पन्नालालको दुखेसो छ ।
पीडित पन्नालाल भन्छन्, ‘सरकारी वकिलको कार्यालयबाट मुद्दा दर्ता गरेर ल्याए, प्रहरीमा त्यो दिए ।

तर डिएसपी भारती सरले हुँदैन, म दर्ता नै गर्दिन भनेर हप्काएर पठाउने भयो । त्यो मुद्दा अहिलेसम्म मुद्दा दर्ता गरिएको छैन ।’१२ दिन देखि सरकारी वकिलको कार्यालय मुद्दा दर्ता गर्न पठाएको पत्र त्यतिकै बाटोमा घुमिरहेको पीडित प्रसादको भनाइ छ ।

कानुनी उपचारको लागि करिब ६० दिनदेखि जिल्ला प्रहरी कार्यालय पर्सामा धाइरहेका उनी बताउँछन् । तर पर्सा प्रहरीका प्रवक्ता दीपक भारतीले भने आफूले त्यस्तो केही हप्कीदप्की नगरेको प्रतिक्रिया दिए । पीडितको समस्या सम्बन्धी प्रक्रिया अगाडि बढाइएको उनको दाबी छ । रेसखबरसंग थप कुराकानी गर्न जिल्लामा आउनु भन्दै उनले सम्पर्क तोडेका थिए ।

पीडित पन्नालालले यही बैशाख २५ गते आफ्नो ना ७ ख ४२८ र ना ७ ख ४२९ नम्बरको २ वटा भाँडाको बस विक्री गरेका थिए । उनले ४५ लाखमा रौतहटका बृन्दवान नगरपालिकाका शेष महबुब र शेष नेयाजलाई विक्री गरेका थिए ।


सम्बन्धित समाचार