Logo

२ असार, काठमाडौँ । अस्ट्रेलियाको सिको गर्दै बेलायत सरकारले पनि १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने ऐतिहासिक घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री किअर स्टामरले आगामी क्रिसमस अगावै यस सम्बन्धी कानुनी विधेयक पारित गरी सन् २०२७ देखि मुलुकभर लागू गर्ने तयारी भइरहेको बीबीसीलाई जानकारी दिएका छन् ।

प्रधानमन्त्री स्टामरका अनुसार सामाजिक सञ्जालको अत्यधिक प्रयोग र यसको लत लाग्ने कारणले बालबालिकाहरूमा खुसी हराउँदै गएको र अनलाइन दुर्व्यवहारको जोखिम बढेकाले यो कठोर कदम चाल्न लागिएको हो । “यो प्रतिबन्धपछि बालबालिकाहरू सुरक्षित हुनेछन्, उनीहरूले रचनात्मक कार्यका लागि पर्याप्त समय पाउनेछन् र हुर्किनका लागि आवश्यक प्राकृतिक स्वतन्त्रता प्राप्त गर्नेछन्,” प्रधानमन्त्री स्टामरले भने, “हरेक अभिभावक आफ्ना छोराछोरीको भविष्य बेलायतमा अझ उज्यालो र सुरक्षित होस् भन्ने चाहन्छन् । सरकार बालबच्चाको सुरक्षा र खुसीको मामिलामा कुनै पनि सम्झौता गर्ने पक्षमा छैन।”

यो कानुन पूर्ण रूपमा कार्यान्वयनमा आएपछि १६ वर्ष मुनिका बालबालिका तथा किशोरकिशोरीहरूले टिकटक, स्न्यापच्याट, युट्युब, इन्स्टाग्राम, फेसबुक र एक्स (ट्विटर) जस्ता लोकप्रिय सामाजिक सञ्जालहरू चलाउन पाउने छैनन् । यद्यपि, सञ्चार सम्पर्कका लागि अत्यावश्यक मानिने मेसेजिङ एपहरू ह्वाट्सएप र सिग्नललाई भने यो प्रतिबन्धको सूचीमा नराखिएको बीबीसीले उल्लेख गरेको छ ।

यसअघि अस्ट्रेलिया सरकारले १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने कानुन पारित गरिसकेको छ । अस्ट्रेलियाको सोही निर्णय र सिकाइबाट उत्प्रेरित भएर बेलायतले पनि यो प्रक्रिया अघि बढाएको प्रधानमन्त्री स्टामरले स्पष्ट पारेका छन् ।


सम्बन्धित समाचार