Logo

१४ सोउन,काठमाडौं । यौन हिंसाको आरोप लागेका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानले संसदीय सुनुवाइ समितिबाट आफ्नो नियुक्ति अस्वीकृत हुने डरले आफैंले नाम फिर्ता लिएका छन् ।

‘अयोग्य’ ठहरिएर प्रस्तावित पद गुमाउनु भन्दा आफैं नाम फिर्ता लिएर स्वेच्छाले पद छाडेको देखाउँदै ‘चोखिने’ प्रयासस्वरुप उनले आफ्नो नाम फिर्ता लिएको बताइएको छ ।

प्रधानले आफैंले स्वेच्छाले यो पदमा नियुक्त हुन नचाहेको भन्दै आफैंले नाम फिर्ता लिएको व्यहोराको पत्र संसदीय सुनुवाइ समितिमा पठाएका छन् ।

संसदीइ सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बोलाइएको थियो । समितिका सांसदहरु आफ्नो विपक्षमा भएको सुइँको पाएपछि प्रधानले समितिका सदस्यहरुलाई आफ्नो नाम अस्वीकृत गरेर ‘अयोग्य’को ट्याग नलगाइदिन आग्रह गरेका थिए । उनले आफैं नाम फिर्ता लिने बताएका थिए ।

प्रधानले नाम फिर्ता लिने भनेपछि संसदीय सुनुवाइ समितिको बैठक बेलुका ५ बजेसम्मका लागि स्थगित गरिएको थियो । समितिको पछि सारिएको बैठक सुरु हुनुभन्दा अगावै प्रधानले आफैंले नाम फिर्ता लिएको पत्र समितिमा पठाएका हुन् ।

प्रधानमाथि एक महिलालाई जागिरको प्रलोभनमा यौन शोषण गरेको र पछि ठूलो रकम तिरेर मिलापत्र गरेको आरोप लागेको छ । ती महिला स्वयंले संसदीइ सुनुवाइ समितिमा प्रधानविद्ध उजुरी दिएकी थिइन् । महिलाले समितिमा स्वयं उपस्थित भएर बयान र उपलब्ध प्रमाण पनि पेश गरेकी थिइन् ।


सम्बन्धित समाचार