Logo

२६ साउन,वीरगञ्ज । शिक्षक तथा कर्मचारी सरुवाको विषयमा वीरगंज महानगरपालिकालाई विपक्षी बनाउँदै दायर भएको रिट सर्वोच्च अदालतले शुक्रबार खारेज गरिदिएको छ ।

स्थानीय तहमा कार्यरत शिक्षक तथा कर्मचारी सरुवाको अधिकार स्थानीय तहकै हुने भएकाले सरुवा रोकी पाउँ भन्दै दायर भएको रिट सर्वोच्चले खारेज गरिदिएको हो । गएको बैशाखमा महानगरपालिकाले महानगर भित्रका विद्यालय सहायक र विद्यालय सहयोगीहरुको सरुवा गरेको थियो ।

धेरै जसो विद्यालय कर्मचारीले सरुवाको पत्र बुझ्दै पठाएको ठाउँमा हाजिर भएको भए पनि आफुहरु महानगरले गरेको सरुवा नमान्ने भन्दै विद्यालय कर्मचारीहरु अनिल ठाकुर हजाम र पृथ्वी प्रसाद चौरसिया सर्वोच्चमा रिट दायर गर्न पुगेका थिए ।

कर्मचारीले माग गरे बमोजिम सरुवा यथास्थितिमा राख्न भन्दै गएको असार १२ गते अल्पकालिन अन्तरिम आदेस दिएको थियो ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय डा. मनोज कुमार शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले विद्यालयका शिक्षक तथा कर्मचारी सरुवा गर्ने अधिकार स्थानीय सरकारकै हुने आदेश गर्दै महानगर विरुद्ध परेको रिट खारेज गरिदिएको हो ।

रिट खारेज भएसँगै स्थानीय तह अन्तर्गतका शिक्षक तथा कर्मचारी सरुवाका लागि नजिर नै कायम भएको छ । अबदेखि विद्यालयका शिक्षक तथा कर्मचारीले सरुवा सम्बन्धमा गर्ने किचलो अन्त्य भएको छ ।


सम्बन्धित समाचार