Logo

२ भदौ,  जनकपुरधाम । गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्ममा मधेश प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा ३३५ दशमलव ७६ किलोमिटर (किमी) हुलाकी सडकको निर्माण सम्पन्न भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, जनकपुरधामका अनुसार धनुषा, सिरहा, महोत्तरी र सर्लाहीमा २३१ दशमलव ८८ किमी सडक नेपाल सरकारको लगानीमा निर्माण भएको हो ।

यसैगरी धनुषा र महोत्तरीमा १०३ दशमलव ८८ किमी सडक भारतीय अनुदानमा निर्माण भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, जनकपुरधामका इन्जिनियर तथा सूचना अधिकारी रञ्जितकुमार रायले बताए । कार्यालयका अनुसार चार जिल्लामा सम्पन्न भएको हुलाकी सडकमा गत आवमा नेपाल सरकारको रू. ८९ करोड ९४ लाख बजेट खर्च भएको छ ।

हुलाकी राजमार्ग सडक आव २०७२/७३ मा निर्माण शुरू भएको थियो । उक्त सडकमा गत आवसम्ममा नेपाल सरकारको रू. ८ अर्ब ५१ करोड ७९ लाख खर्च भइसकेको सूचना अधिकारी रायले बताए । निर्माण भएको सडकमध्ये ५७ दशमलव ८५ किमी कालोपत्र गर्न बाँकी रहेको जानकारी उनले दिए । उक्त सडकमध्ये २० किमी चालू आवमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

हुलाकी सडक निर्माण सम्पन्न भए तराई मधेशको कृषि लगायत वस्तुको बजारीकरणमा धेरै ठूलो सघाउ पुग्ने धनुषा कपटोलका जगदीश मण्डलले बताए । यस सडकको निर्माणले ग्रामीण अर्थतन्त्रको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीमा समेत प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पुर्‍याउने स्थानीय रामसागर यादवले बताए । #आर्थिक अभियान


सम्बन्धित समाचार