Logo

२ भदौ,काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताको विरुद्ध र कानूनी राजको पक्षमा कुनै पनि बेला आन्दोलनमा उत्रिनुपर्ने बताएका छन् । त्यसका लागि एमाले हरदम तयार रहनुपर्ने उनले उल्लेख गरे ।

पार्टी निकट खेलकुद महासंघ केन्द्रीय समिति बैठकलाई आइतबार पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले केही अराजक तत्वले अराजकतावादी क्रियाकलाप गर्न खोजेको भन्दै सचेत रहनुपर्ने बताएका हुन् ।

‘केही भिन्न प्रकारका तत्वहरू केही अराजकतावादी गतिविधि गर्ने प्रयास गरिरहेका छन्, अभिव्यक्ति काफी छन्, क्रियाकलाप पनि गरिरहेका छन् । नेकपा एमाले तयार हुनुपर्छ,’ ओलीले भने, ‘कुनै पनि अराजकताकाविरुद्ध कानूनी राज्यको पक्षमा, सुव्यवस्था, सुशासन, लोकतन्त्र संविधान रक्षाको पक्षमा कुनै पनि बेला आन्दोलनको मैदानमा उत्रिनु पर्ने हुनसक्छ, त्यसका लागि एमाले हरदम तयार रहनुपर्छ । एमाले अन्याय अत्याचारको विरुद्ध लडेर आएकाले कुनै पनि गलत प्रवृत्तिसँग झुक्दैन । गलत प्रवृत्तिसँग सम्झौता पनि गर्दैन ।’

कतिपयले बंगलादेशको घटनालाई लिएर चर्चा गरे पनि नेपालमा त्यस्तो हुन नसक्ने उनले बताए ।
‘छिमेकमा अलोकतान्त्रिक, असंवैधानिक, असामाजिक क्रियाकलाप भइरहेका छन् र कतिपयले त्यस्ता कुरालाई आधार बनाएर चर्चा गर्ने गरेका छन् । नेपाली जनताको मानसिकता सदैव शान्तिको पक्षमा छ । लोकतन्त्रको पक्षमा छ, हुकुमी

शासन होइन, संविधान, कानून अन्तर्गत कानूनी राजको पक्षमा छ,’ ओलीले भने । ओलीले अहिलेको सरकारले एउटा पनि गल्ती नगर्ने दाबी गरे । ‘हामी मिसन ०८४ भनेर हिँडेको पार्टीलाई गल्ती गर्ने सुविधा र छुट छैन, भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने काम गर्नेछौं,’ ओलीले भने ।


सम्बन्धित समाचार