Logo

५ भदौ,वीरगञ्ज । मधेश प्रदेशमा प्राकृतिक विपतबाट ज्यान गुमाउनको सूचि लामै छ । एक महिनामा ५० जनाको हाराहारीमा विपतबाट अकालमै ज्यान गुमाउनु परेको तथ्यांक सार्वजनिक भएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार असारदेखि साउनसम्ममा करिब ५० जनाले विपतमा ज्यान गुमाउनु परेको छ, जसमा बालबालिकाको संख्या पनि डरलाग्दो देखिएको छ । प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको एक तथ्यांकले यस्तो देखाएको हो । प्रदेशका ८ वटै जिल्लाबाट यस्ता घटनामा परी ज्यान गुमाउने बालबालिकाको संख्यामा पनि कमी छैन ।

प्रहरीका अनुसार असार १५ गतेदेखि साउन ३२ गतेसम्म प्रदेशमा मनसुनजन्य घटनामा परी ४६ जनाले ज्यान गुमाइसकेका छन्, जसमध्ये ३६ जना बालबालिका मात्र छन् । यसरी ज्यान गुमाउनेमा ७ जना पुरुष र ३ महिलासमेत छन् । विभिन्न १०७ वटा घटनामा परी उनीहरुले ज्यान गुमाएका प्रहरी आँकडा छ ।

मनसुन सुरु भएयता यस्ता घटनामा परी १४ जना घाइते भएका छन् भने २ जना बालबालिका बेपत्ता समेत भएका छन् । विशेष गरी नदी तथा खोलामा डुबेर वा बगाएर, चट्याङ तथा वर्षाका कारण यी संख्याका मानिसहरुले ज्यान गुमाएको प्रहरी तथ्यांकले देखाएको छ ।

कुन जिल्लामा कति ?
प्रदेशका ८ वटै जिल्लाबाट प्राकृतिक विपत्का घटनामा परी ज्यान गुमाएका प्रहरी विवरण छ । तर महोत्तरीबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यो जिल्लाबाट मात्र ८ बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।

त्यसपछिको सुचिमा सिरहा छ । जहाँ ५ बालबालिकासहित ८ जनाको मृत्यु भएको छ । यस्तै रौतहट ७, बारा ६, सप्तरी र धनुषा ५÷५, सर्लाही ३ जनाको ज्यान गएको छ । भने पर्सामा २ जनाको मृत्यु भएको छ ।

कति क्षति ?
प्राकृतिक विपत्का घटनाका कारण मानविय क्षति मात्र नभइ भौतिक क्षति समेत भएको प्रहरीको भनाइ छ । सोही अवधिमा प्रदेशका विभिन्न जिल्लाहरुमा ५९ वटा कच्ची घरमा समेत क्षति पुगेको छ । यसैगरी प्राकृतिक विपत्का कारण हालसम्म प्रदेशमा ४७ लाख ६९ हजार २७५ मूल्य बराबरको धनमाल क्षती भएको प्रहरी आँकडा छ ।


सम्बन्धित समाचार