Logo

८ असोज,वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आएको समयमा कांग्रेस बाराको आन्तरिक विवाद छताछुल्ल भएको छ ।

पार्टी सभापति शेर बहादुर देउवा पर्साको पटेर्वा सुगौलीमा निर्माण सम्पन्न आधारभूत अस्पताल उदघाटनका लागि आउने भएपछि नेपाली कांग्रेस बाराले सिमरा विमान स्थलमा मंगलबार स्वागत गर्ने निर्णय गरेको थियो ।

पार्टीका बारा सभापति राजेश राय यादवले कार्य समितिको बैठक राखेर सिमरा विमानस्थलमा देउवाको स्वागत गर्ने निर्णय बाहिरिन नपाउँदै दुईजना जिल्ला सचिव र दुईजना क्षेत्रीय सभापतिले संयुक्त विज्ञप्ति जारी गरेर विधान विपरित सदस्यता वितरण गरेको आरोप सहित विज्ञप्ति जारी गरेको छ ।

पार्टीका जिल्ला सचिव भैयाराम यादव, राजेश रौनियार र क्षेत्रीय सभापति विजयशंकर यादव र प्रभात चौरसियाले संयुक्त विज्ञप्ति निकालेर पार्टीको सदस्यता वितरणमा विरोध जनाएका हुन् ।

नेपाली कांग्रेसको सदस्यता प्रदान गर्दा पार्टीको विधान तथा नियमावलीले व्यवस्था गरे बमोजिम विधि सम्मत गर्नु पर्ने भएपनि पार्टीका जिल्ला सभापति राजेश राय यादवले नियम विपरित आफू अनुकुलका व्यक्तिहरुलाई सदस्यता वितरण गरेर निन्दनीय कार्य गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपाली काँग्रेसको विधान २०१७ संशोधन सहित एवं नेपाली कांग्रेसको नियमावली २०७६ को विपरित भएका सदस्यता वितरण कार्य तत्काल रोक्नु पर्ने माग पनि गरेको छ ।
नेपाली काँग्रेसको नियमावली २०७६ को धारा ३ अनुसार नयाँ सक्रिय सदस्यता फारम वितरण गर्दा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई उपलब्ध गराउनुपर्ने र क्षेत्रीय कार्य समितिले प्रदेशसभा कार्य समितिलाई, पालिका कार्यसमितिले वडा कार्यसमितिलाई फारम वितरण गर्नुपर्ने नियमावलीमा प्रष्ट रहेको छ ।

तरपनि जिल्ला सभापति यादवले नियमावलीलाई मिच्दै आफू अनुकुलका व्यक्तिलाई फारम वितरण गरेको आरोप लगाएको छ । विधान र नियमावली विपरित पार्टी कब्जा गर्ने मनसायले गरेको कार्यको भर्त्सना गरेको छ । साथै विधान विपरित कार्य नसच्चिएमा चरणवद्ध आन्दोलनमा जाने विज्ञप्तिमा जनाएको छ ।

नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिले विधान विपरित वितरण हुदै गरेको क्रियाशिल सदस्यता वितरणको विधान समेत सच्याउन माग गरेका छन् ।


सम्बन्धित समाचार