Logo

१९ असोज,काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् प्रभावितहरूको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकले स्थानीय तहले विपद् प्रभावितहरूको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउन रकम उपलब्ध गराउने बताएका हुन्। उनले त्यसका लागि स्थानीय तहले यथाशीघ्र लाभग्राही पहिचान गरेर संघ सरकारलाई नाम पठाउनुपर्ने बताए। उनले बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै सरकार गम्भीर भएको बताए।

उनले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरी सम्बन्धित जिल्लामा पठाइसकेको बताए। यथाशीघ्र घरमै गएर पीडित परिवारलाई राहत दिने निर्णय भएको खुलासा गरे। उनले घाइतेको निःशुल्क उपचार गर्ने बताए। उनले पूर्णरूपले क्षतिग्रस्त घरका लागि तत्काल अस्थायी आवास बनाउन रकम निकासा गर्ने बताए।

मन्त्री लेखकले भने‚ ‘हामी अहिले विपद्को अवस्थामा छौँ। अविरल वर्षाका कारणले देशभर बाढी र पहिरोका कारणले जनधनक्षति भएको छ। हामीले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लामा पैसा पठाइसकेका छौँ।

पूर्णरुपले क्षति भएका घरको लागि तत्काल अस्थायी आवास बनाउन रकम निकासा गर्नेकुरा अघि बढेको छ। म सबै स्थानीय तहलाई के आग्रह गर्न चाहन्छु भने चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरेर पठाइदियो भने पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउन सक्छौँ।’

 


सम्बन्धित समाचार