Logo

२६ असोज,वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विजयादशमीका अवसरमा आस्था र निष्ठाका साथ गरिने पूजापाठले आध्यात्मिक जीवनलाई सार्थक बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालीहरूको महान् पर्व विजयादशमीको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री गुप्ताले यस पर्वले समाजमा नयाँ उत्साह र उमङ्ग छर्ने बताए । “आनन्द, खुसी र एकताको यो पर्वले सबैको जीवनमा खराब आचरणको अन्त्य गर्दै समाजमा नयाँ ऊर्जा तथा उत्साह सञ्चार गर्न सकोस्”, शुभकामना दिए ।

मन्त्री गुप्ताले आख्यानका आधारमा तिथि विशेषमा मनाइने हाम्रा प्रत्येक पर्व–त्योहार आफ्नो मान्यतामा अनौठो र मौलिक रहेका उल्लेख गरे। यस्ता पर्वले हाम्रा सांस्कृतिक परम्परालाई अक्षुण्ण राख्न सहयोग पुग्ने भन्दै उनले नेपालीका महत्त्वपूर्ण चाडपर्वमध्ये विजयादशमी पनि एक भएको उल्लेख गरे। “भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार दसैँ, बडादसैँ, दशहरा, दुर्गा पूजा, नवरात्रि आदि नामले समेत चिनिने यो महापर्व असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मनाइन्छ ।

विजयादशमी सामाजिक मात्र नभई राष्ट्रिय महत्त्व बोकेको पर्व पनि हो । यसले कु प्रवृत्तिमाथि सद्वृत्तिको विजय, असत्यमाथि सत्यको विजय, अन्धकारमाथि प्रकाशको विजयको सन्देश दिन्छ”, मन्त्री गुप्ताले भनेका छन,“संसारमा अन्याय र अत्याचार गर्नेहरूको सधैँ पराजय हुने तथा न्यायकर्ता र सदाचारीको सधैँ विजय हुने शिक्षा पनि यसले दिन्छ । अत्याचारी जतिसुकै शक्तिशाली भए पनि अन्त्यमा उसको सर्वनाश निश्चित भएको सन्देश पनि दिन्छ ।”

उनले विजयादशमीले समाजमा चेतना र सजगता ल्याउँदै सबैलाई मन–बचनबाट सुकर्म गर्न र कुविचार परित्याग गर्न सघाऊँ पुगोस् भनी कामनासमेत गरे। यस्तै, विजयादशमीले आपसी शत्रुता र कटुता बिर्सेर एकर्कामा शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गर्दै परिवार र समाजमा एकता, प्रेम र सद्भावना बढाउनमा सहयोग पुग्ने र सामाजिक सम्बन्धलाई बलियो र एकताको भावना अभिवृद्धि गर्नमा सघाउने मन्त्री गुप्ताको विश्वास छ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आयोजित कार्यक्रममा समाज कल्याण मन्त्री प्रमोद जैसवाल , सखुवा प्रसौनी गाउँपालिकाका प्रथम गाउँपालिका अध्यक्ष प्रदीप जैसवाल , पकाहा मैनपुर गाउँपालिकाका प्रथम अध्यक्ष विजय चौरसिया लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार