Logo

३ कार्तिक, चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीहरुको एकतालाई चाडै टुङ्गोमा पुर्‍याउने बताएका छन् । माओवादी केन्द्रले चितवनको भरतपुर १३ मा बेपत्ता यौद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको बृहत् जन साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताउदै अध्यक्ष प्रचण्डले आफूहरु शान्ति सम्झौतामा आउदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै विन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गरे । अब त्यो विन्दु आएको अध्यक्ष प्रचण्डको भनाई छ ।

आम जनतालाई एकताबद्ध गराउदै समाजवादी क्रान्ति पूरा गर्ने भन्दै उनले पछिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टङ्गोमा पुर्याउने लगायततका ऐतिहासिक काम गरिएको उल्लेख गरे ।

उनले न्यौपाने जनयुद्धको क्रममा बेपत्ता हुने सबैभन्दा माथिल्लो तहको नेता भएको उल्लेख गर्दै आफूसित अत्यन्त निकट रहेर काम गरेको र निरन्तर नेतृत्व विकासमा जोड दिने गरेको बताए ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए चौसट्ठी साल दोहोरिने बताए । जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्ने उल्लेख गर्दै त्यसका लागि क्रान्तिकारीहरुको एकता आवश्यक रहेको बताए ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौं यौद्धाको बलिदानबाट प्राप्त संविधान कसैले दायाँबायाँ गर्न नपाउने उल्लेख गर्दै अब माओवादी र बामपंथी एकताबाट समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताए ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जनयुद्धको जगमा जनतन्त्रको एजेन्डा पूरा भएको उल्लेख गर्दै अब जनाजीविकाको सवाललाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताए । उनले माओवादी आन्दोलनलाई एकताबद्व गरेर समाजवादी क्रान्तिलाई अगाडि बढाउनुपर्ने बताउए । कार्यक्रममा सामना साँस्कृतिक परिवार तथा अन्य विभिन्न कलाकारले गीत नृत्य प्रस्तुत गरेका थिए ।


सम्बन्धित समाचार