Logo

६ कात्तिक,काठमाडौं । ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध ’रेड नोटिस’ जारी गर्न प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जनाएको छ ।

एक उच्च प्रहरी अधिकृतका अनुसार मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे सीआईबीले अनुसन्धान गरिरहेको छ ।

कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति उक्त सहकारीको प्रबन्ध निर्देशक थिइन् । बर्दिया घर भएका ज्योति भण्डारीले पनि सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ । भण्डारी कम्बोडियामा लुकेको आशंका गरिएको छ ।

उनले रकम लगेर ऋण फिर्ता नगरेको सहकारीका सञ्चालकहरू बताउँछन् । सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ । धनराज गुरुङ र ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरेको भेटिएको छ ।

सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिएका थिए।


सम्बन्धित समाचार