१० मंसिर,सेढवा । रासायनिक मल किसानहरुलाई बितरण नगरेको भन्दै कृषि सहकारी संस्थाको दर्ता खारिजका लागि जीराभवानी गाउँपालिकामा किसानहरुले निबेदन दर्ता गराएका छन्।
जीराभवानी गाउँपालिका वडा नं.–४ सुपौलीमा संचालित संगम कृषि सहकारी संस्थाको दर्ता खारेजीको माग गर्दै किसानहरुले कृषि शाखामा निबेदन दर्ता गराएका हुन्।
सो संस्थाका संचालकले पालिकाको सिफारिसमा ९० बोरा डिएपी र १०० बोरा यूरिया मल एक साता अगाडी ल्याएका थिए। तर हालसम्म मल बितरण नगरेको किसानहरुको आरोप छ। गहुँ छर्ने बेला पर्साको ग्रामीण भेगमा रासायनिक मलको अभाव भएको बेला सो संस्थाले मल बितरण नगरेका किसानहरुको भनाई छ ।
यस सम्बन्धमा कृषि शाखाका प्राबिधिक क्षेत्र बहादुर साहले गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा सो वडाका वडाध्यक्षबीच छलफल गरी आएका निर्देशन अनुसार कार्यवाही गरिने बताए।