Logo

५ असार, मलङ्गवा (सर्लाही) । सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ स्थित एक जग्गा विवादलाई लिएर प्रहरी कार्यालयमै हुलहुज्जत, ढुङ्गामुढा तथा गाडी तोडफोड गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

अदालतको आदेशानुसार जग्गा भोगचलन गर्न पुगेका धनीमाथि अवरोध सिर्जना गर्दै उनीहरूले इलाका प्रहरी कार्यालय केशरगञ्ज परिसरमै पुगेर उपद्रव मच्चाएका हुन् ।

जिल्ला अदालत सर्लाहीले स्थानीय कालिका उप्रेतीको निर्विवाद हकभोग तथा स्वामित्वमा रहेको जग्गा उनलाई भोगचलन गर्न नरोकिने भनी आदेश जारी गरेको थियो । सोही आदेशका आधारमा उप्रेती आफ्नो जग्गा भोगचलनका लागि पुगेका थिईन् ।

तर, त्यहाँ केही व्यक्तिहरूले अवरोध खडा गरेपछि सुरक्षा र शान्तिपूर्ण निकासका लागि दुवै पक्ष इलाका प्रहरी कार्यालय केशरगञ्ज पुगेका थिए । छलफलकै क्रममा आक्रोशित समूहले प्रहरी कार्यालय परिसरमै पार्किङ गरी राखिएको उप्रेतीको सवारी साधन (गाडी) तोडफोड गरेका थि ए।

स्थिति नियन्त्रणमा लिन खोज्दा उत्तेजित भिडले उल्टै प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेको थियो । सो क्रममा उनीहरूले इलाका प्रहरी कार्यालय केशरगञ्जको मुख्य गेट समेत तोडफोड गर्ने प्रयास गर्दै सुरक्षा निकायमाथि नै चुनौती दिएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालयमा ढुङ्गामुढा र आपराधिक उपद्रव मच्चाएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–११ घर भई हाल ईश्वरपुर–१५ सुकनाहा बस्ने ३२ वर्षीय विनोद कडेरिया, सोही स्थानका ६२ वर्षीय जयप्रसाद गौतम र उनका ३६ वर्षीय छोरा उज्ज्वल गौतम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमका अनुसार पक्राउ परेका तीनै जना विरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालतबाट असार २ गतेदेखि लागू हुने गरी ६ दिनको म्याद थप अनुमति लिई उनीहरूमाथि हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । घटनामा संलग्न रही फरार रहेका अन्य उपद्रवीहरूको खोजी कार्य र थप अनुसन्धान भईरहेको सर्लाही प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार