Logo

४ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी पहिलो महाधिवेशनका लागि करिब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ।

बिहीबार पार्टी सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनको अनुमानित बजेटबारे जानकारी दिएका हुन्।

उनका अनुसार महाधिवेशनको खर्च प्रतिनिधिहरूबाट उठाइने दर्ता शुल्क, पार्टी सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगबाट व्यवस्थापन गरिनेछ।

बुर्लाकोटीले सेवा तथा सामग्री आपूर्तिकर्ताहरूसँग सहुलियतका विषयमा छलफल भइरहेको उल्लेख गर्दै केही सेवा प्रदायकहरूले न्यूनतम शुल्क वा नाफारहित रूपमा सेवा उपलब्ध गराउने प्रस्तावसमेत आएको बताए।

महामन्त्री बुर्लाकोटीले भने, “महाधिवेशनको खर्च करिब ४ करोड रुपैयाँ जति हुने अनुमान छ। त्यसको केही हिस्सा प्रतिनिधिहरूको दर्ता शुल्कबाट र बाँकी रकम सदस्य तथा शुभचिन्तकहरूको सहयोगबाट जुटाइनेछ।”

उनका अनुसार क्याटरिङलगायतका मुख्य खर्च हुने क्षेत्रहरूमा सेवा प्रदायकहरूले नाफा नलिई लागत मूल्यमा सेवा उपलब्ध गराउने प्रस्ताव गरेका छन्।

रास्वपाले विभिन्न क्षेत्रबाट प्राप्त सहयोग र कार्यकर्ताको उत्साहका आधारमा महाधिवेशन खर्च व्यवस्थापन गर्न सकिने विश्वास व्यक्त गरेको छ।

पार्टीको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुँदैछ। उद्घाटन असार ७ गते भरतपुरको गेस्ट हाउस मैदानमा हुनेछ भने असार ८ र ९ गते उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र सञ्चालन हुनेछ।

महाधिवेशनले पार्टी नेतृत्व चयन गर्नेछ। पहिलो चरणमा एक सभापति र ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ। त्यसपछि निर्वाचित सदस्यहरूबाट तीन उपसभापति, दुई महामन्त्री र चार सहमहामन्त्री चयन हुने व्यवस्था रहेको छ।


सम्बन्धित समाचार