४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आसन्न प्रथम महाधिवेशनलाई लक्षित गर्दै आन्तरिक चुनावी प्रतिस्पर्धामा आचारसंहिताको पूर्ण पालना गर्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई कडा निर्देशन दिएको छ ।
पार्टीको सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने र आवश्यकताभन्दा बढी प्रचारप्रसारमा लाग्ने क्रम बढेको भन्दै यस्तो निर्देशन जारी गरेको हो । महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, पार्टीभित्र कुनै पनि गुटबन्दी वा मतभेद हुन नदिई सौहार्दपूर्ण र एकताबद्ध वातावरणमा निर्वाचन प्रक्रिया सम्पन्न गराउन नेता(कार्यकर्ताहरूलाई आचारसंहिताको दायरामा रहेर प्रस्तुत हुन भनिएको छ ।
चितवनमा असार ७, ८ र ९ गते हुन लागेको महाधिवेशनलाई चुस्त र व्यवस्थित बनाउन रास्वपाले डिजिटल प्रविधिको प्रयोगमा जोड दिएको छ । महाधिवेशनको मतदान प्रक्रिया पूर्ण रूपमा विद्युतीय भोटिङ मेशिन मार्फत सञ्चालन गरिने र त्यसका लागि तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ ।
साथै, बैठकले महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूका लागि अनिवार्य रूपमा पार्टीको लेवी चुक्ता गरेको हुनुपर्ने नियम लागू गरेको छ, लेवी नतिर्ने प्रतिनिधिहरूलाई प्रवेशमा रोक लगाउने निर्णयले आर्थिक अनुशासनलाई प्राथमिकतामा राखेको देखिन्छ ।
महाधिवेशनको तयारी र सांगठनिक संरचनाबारे जानकारी दिँदै महामन्त्री बुर्लाकोटीले मधेस प्रदेशबाहेक अन्य प्रदेशमा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष सुनाए । झन्डै तीन हजारको हाराहारीमा प्रतिनिधि सहभागी हुने अनुमान गरिएको यो महाधिवेशनका लागि गठन गरिएका विभिन्न उपसमितिहरूलाई असार ६ गते साँझसम्म सबै तयारी पूरा गरिसक्न निर्देशन दिइएको छ ।
विधान संशोधनसम्बन्धी छलफलमा १५१ सदस्यीय केन्द्रीय समिति र प्रदेश सभापतिहरू पदेन सदस्य रहने प्रस्ताव अघि बढेको छ । नयाँ नेतृत्व चयन गर्ने लक्ष्यसहित हुन लागेको यस महाधिवेशनमा राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरिएको छ ।
















