४ असार,काठमाडौं । विगत लामो समयदेखि निर्माण हुन नसकेको पोखरा महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा महानगरपालिकाले अवरोध बनेका संरचना हटाउने कार्य सुरु गरेको छ।
बसपार्क निर्माण कार्यलाई गति दिने उद्देश्यसहित बिहीबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपस्थितिमा डोजर चलाएर संरचना हटाउने अभियान थालिएको हो।
करिब पाँच दशकदेखि विभिन्न कारणले अलपत्र रहेको बसपार्क निर्माण प्रक्रिया अघि बढाउन महानगरपालिका सक्रिय भएको जनाएको छ। महानगरका अनुसार बसपार्क क्षेत्रभित्र रहेका अनधिकृत संरचना तथा अन्य अवरोधहरू हटाउँदै निर्माण कार्यलाई तीव्रता दिइनेछ।
महानगरपालिकाले बसपार्क निर्माण सम्पन्न भएपछि यातायात व्यवस्थापनमा सहजता आउने, यात्रुहरूलाई सुविधा पुग्ने तथा पोखरा सहरको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ।
लामो समयदेखि प्रतिक्षामा रहेको बसपार्क निर्माण कार्यले अब गति लिने विश्वास स्थानीयवासी तथा सरोकारवालाहरूले व्यक्त गरेका छन्।
















