Logo

४ असार,चितवन । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापाका अनुसार गत चैत २३ गते सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेयता निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या झण्डै दोब्बरले बढेको छ।

तथ्याङ्कअनुसार गत वर्षको यही अवधिमा ३१ हजार ५७७ जना आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म भने ४८ हजार ५९८ जना आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेका छन्।

चितवन राष्ट्रिय निकुञ्ज प्रवेशका लागि आठ वटा नाकाबाट पर्यटकहरू आउने गर्दछन्। निकुञ्ज भ्रमणका लागि हाल ७२ वटा जिपले अनुमति प्राप्त गरेका छन्। पर्यटकहरू जिप सफारीसँगै पैदल यात्राका लागि पनि निकुञ्ज पुग्ने गरेका छन्।

निकुञ्जमा एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, चितुवा, घडियाल गोही तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित हुने गरेका छन्।

निकुञ्ज प्रशासनका अनुसार सार्वजनिक बिदाको समय बढेसँगै परिवार तथा समूहमा घुम्न जाने प्रवृत्ति बढेकाले आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव परेको छ।


सम्बन्धित समाचार
भर्खरै