४ असार, काठमाडौं । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान र बगानमा कार्यरत श्रमिकहरूले भोगिरहेका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारलाई कडा निर्देशन दिएको छ ।
बिहीबार बसेको समितिको बैठकमा सभापति कृष्णप्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका जटिलताप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल राहतका कार्यक्रम ल्याउन निर्देशन दिएका हुन् । विगत चार दिनदेखि इलामलगायतका क्षेत्रमा चिया उद्योगीहरूले निर्यातमा देखिएको कठिनाइलाई कारण देखाउँदै उद्योग बन्द गरेपछि यो विषय थप पेचिलो बनेको छ ।
सभापति पौडेलले चियासँगै अलैँची, सुपारी, बेसार, अदुवा र कफीजस्ता नगदेबालीहरूको उचित मूल्य निर्धारण र व्यवस्थित बजार पहुँचका लागि पनि तत्काल पहल गर्न आग्रह गरे ।
किसानहरूले आफूले उत्पादन गरेको उपजको उचित मूल्य नपाउने र बजारको सुनिश्चितता नहुने समस्या वर्षौंदेखि भोग्दै आएकाले अब सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा उनले जोड दिए । यसका लागि समितिले प्रभावकारी बजार प्रणालीको विकास गर्न र आवश्यक कानुनी प्रबन्ध मिलाउन सरकारलाई निर्देश गरेको छ ।
समितिको बैठकमा सभापति पौडेलले नगदेबालीको बजार व्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारले चालू अधिवेशनभित्रै विशेष कानुन ल्याउनुपर्ने आवश्यकता औँल्याए । किसान र श्रमिकको जीवनस्तर उकास्न र कृषि क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन यस्ता समस्याको दीर्घकालीन समाधान खोज्नुको विकल्प नभएको समितिको ठहर छ । समितिको यो निर्देशनले चिया र नगदेबाली उत्पादनमा आश्रित लाखौँ किसानका लागि केही राहत मिल्ने अपेक्षा गरिएको छ ।
















