४ असार, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी राष्ट्र चीनसँग पनि नेपालको सीमा विवाद रहेको औपचारिक रूपमा स्वीकार गरेका छन् ।
बिहीबार संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री खनालले दुवै उत्तरी छिमेकी मुलुकसँग सीमासम्बन्धी केही विवाद कायमै रहेको प्रस्ट पारेका हुन् । उनले चीनसँग सीमाका केही सीमित स्थानमा विवाद रहेको उल्लेख गर्दै त्यहाँ हाल गतिविधि कम रहेको जानकारी दिए ।
यसैगरी, मन्त्री खनालले दक्षिणी छिमेकी भारतसँगको सीमासम्बन्धी बाँकी कामहरूले तीव्रता पाएको बताएका छन् । उनले सीमा स्तम्भहरूको पुनर्निर्माण तथा क्रसबोर्डर अतिक्रमणजस्ता लामो समयदेखि थाती रहेका विषयमा अहिले दुवै देशबीच गम्भीर छलफल र प्राविधिक काम अगाडि बढिरहेको सदनलाई जानकारी दिएका छन् ।
लामो समयसम्म रोकिएको सीमासम्बन्धी प्रक्रिया पुनः सुचारु भएको र दुवै देशका प्राविधिकहरू सीमा क्षेत्रमा सक्रिय रूपमा खटिरहेको उनको भनाइ छ । सरकारले दुवै देशसँगको सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न निरन्तर प्रयास गरिरहेको मन्त्री खनालले स्पष्ट पारेका छन् ।
















