Logo

५ असार, वीरगञ्ज । उद्योग विभागले वातावरणीय मापदण्डको पूर्ण पालना गर्न देशभरका उद्योगलाई कडा निर्देशन जारी गरेको छ । फोहोरपानी प्रशोधन नगरी नदी तथा खोलामा मिसाउने, वायु तथा ध्वनि प्रदूषण नियन्त्रणका उपाय नअपनाउने उद्योगविरुद्ध कानुनअनुसार कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभागले सार्वजनिक सूचना जारी गर्दै उद्योग सञ्चालनका क्रममा स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन (IEE/EIA) र वातावरणीय व्यवस्थापन योजना (EMP) मा उल्लेखित प्रदूषण न्यूनीकरणका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै उद्योगलाई निर्देशन दिएको हो ।

विभागका अनुसार उद्योगहरूले अनिवार्य रूपमा फोहोरपानी प्रशोधन केन्द्र (Effluent Treatment Plant–ETP) सञ्चालन गर्नुपर्ने, वायु प्रदूषण नियन्त्रण उपकरण जडान गर्नुपर्ने तथा नेपाल सरकारले निर्धारण गरेका Noise, Air Emission and Effluent Standards को पूर्ण पालना गर्नुपर्नेछ ।

सूचनामा उद्योगहरूलाई तोकिएका प्रदूषण मापदण्ड सम्बन्धी परीक्षण प्रतिवेदन, वायु उत्सर्जन नियन्त्रण उपकरण तथा फोहोरपानी प्रशोधन प्रणालीको विवरण ३० दिनभित्र विभागमा बुझाउन भनिएको छ । विभागले जानकारी नदिने तथा मापदण्ड उल्लंघन गर्ने उद्योगमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेको छ ।

यसैबीच, वातावरण विभागले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूको वातावरणीय अनुगमन गर्दा १० उद्योगले नेपाल सरकारले निर्धारण गरेको वातावरणीय मापदण्ड पूरा नगरेको पाएको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्राप्त सिरसिया नदी प्रदूषण सम्बन्धी गुनासोका आधारमा वातावरण विभागले २०८३ जेठ ५ देखि जेठ ११ गतेसम्म १३ उद्योगको अनुगमन गरेको थियो । अनुगमनका क्रममा उद्योगबाट निस्कने फोहोरपानीको नमुना संकलन गरी प्रयोगशाला परीक्षण गर्दा १० उद्योगको नतिजा तोकिएको मापदण्डअनुसार नभएको विभागले जनाएको छ।

निर्देशन प्राप्त गर्ने उद्योगहरूमा :

जगदम्बा स्टिल इन्डष्ट्रिज लिमिटेड, बारा
* हुलास स्टिल इन्डष्ट्रिज प्रालि, बारा
* नारायणी लेदर म्यानुफ्याक्चरिङ इन्डष्ट्रिज, बारा
* मरियम लेदर उद्योग प्रालि, पर्सा
* ग्लोबल लेदर टेनिङ इन्डष्ट्रिज, पर्सा
* सिद्धि टेक्सटाइल प्रालि, पर्सा
* अर्निको प्रोसेसिङ इन्डष्ट्रिज प्रालि, पर्सा
* शिवशक्ति घिउ उद्योग प्रालि, बारा
* सुशील वनस्पति प्रालि, पर्सा
* दुर्गा पल्प प्रालि, पर्सा

वातावरण विभागले यी उद्योगहरूलाई तत्काल सुधारात्मक उपाय अवलम्बन गर्न तथा १५ दिनभित्र फोहोरपानीको पुनः परीक्षण गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

लामो समयदेखि बारा–पर्सा औद्योगिक क्षेत्रबाट निस्कने प्रदूषित फोहोरपानीका कारण सिरसिया नदी प्रदूषित हुँदै आएको गुनासो रहँदै आएको छ । पछिल्लो अनुगमनपछि सरकार प्रदूषण नियन्त्रणमा थप कडा रूपमा प्रस्तुत भएको संकेत देखिएको छ ।

उद्योग विभाग र वातावरण विभागले छुट्टाछुट्टै जारी गरेका निर्देशनले वातावरणीय मापदण्ड उल्लंघन गर्ने उद्योगलाई अब छुट नदिइने सन्देश दिएको सरोकारवालाहरूको भनाइ छ । उद्योगहरूले समयमै प्रदूषण नियन्त्रणका उपाय लागू नगरे थप कानुनी कारबाही, जरिवाना तथा उद्योग सञ्चालनमा समेत असर पर्न सक्ने चेतावनी सरकारी निकायले दिएका छन् । 


सम्बन्धित समाचार