१२ मंसिर, वीरगञ्ज । वर्षेबाली धान भित्र्याएका पर्साका किसानहरु अहिले अर्को मुख्यबाली गहुँ छर्ने तयारीमा जुटेका छन् । जिल्लाको गण्डक नहरभन्दा उतर तर्फ थारुवान क्षेत्रका किसानहरु गहुँ छर्न खेतको सरसफाई तथा अन्य क्रियाकलापमा जुटेका हुन् ।
खेत खाली गर्न, खेतमा रहेका पराल भण्डारण गर्न वा जलाउन किसानहरु व्यस्त भएका जिराभवानी गाउँपालिका वडा नं २ का किसान अमृत चौधरीले बताए । कतिपय किसानका खेतमा पानीको मात्रा न्यून भइ सुख्खा रहेकाले धानको ठुटो भएको खेत सिंचाईमा लागेका चौधरीले बताए । जमिनमा पानीको मात्रा पुरा नभए गहँु नउम्रिने भएकाले किसानहरुले बाँध पैनी, दमकल वा मोटरको साहायताले सिंचाई गरिरहेका छन् ।
गहुँबाली लगाउन आवश्यक रासायनिक मल खरिदको जोहोमा किसानहरु लागि परेका छन् । पटेर्वासुगौली गाउपालिका वडा नं २ मकवानी टोलका किसान बिगा महरा चमारले गहँु छर्ने कार्यका लागि आवश्यक तयारी किसानहरुले गरिरहेको बताए । तर किसानहरुले हालसम्म रासायनिक मल पाउन नसकेको किसान चमारले गुनासो गरे ।
गहुँ छर्न बेला डिएपी, यूरिया र पोटास रासायनिक मलको आवश्यकता पर्छ । जिराभवानी गाउँपालिका वडा नं २ सेढवामा रहेका जय मारुति नन्दन कृषि सहकारी संस्थाका संचालक सत्यनारायण साहका आनुसार कृषि सामग्री संस्थान कम्पनी र साल्ट ट्रेनिंग कम्पनीले केही मात्रा रासायनिक मल दिए पनि सो मल पर्याप्त छैन । यी कम्पनीहरुले उपलब्ध गराएका मल वितरण गरि सकेको तर अझै किसानहरुको माग रहेको साहले बताए ।