८ पुष, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको छ ।
अदालतमा आज गोला प्रथापछि न्यायाधीशको बेन्च तय हुनेछ । बेन्चले सुनुवाइ सकिएपछि लामिछाने लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पूर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनीविरुद्ध आइतबार तीनवटा कसुरमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा दायर गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले यही पूरक अभियोगपत्रबाट कारबाही सुरु गर्न समेत माग गरेको छ । लामिछानेमाथि अन्तिमपटक थपिएको म्याद शुक्रबार रातिदेखि सकिएको थियो । त्यसपछि एकैपटक आइतबार लामिछानेविरुद्ध मुद्दा दर्ता गरिएको हो ।