२६ पुष,काठमाडौँ । प्रेस चौतारी नेपालले चारजना पत्रकारलाई कारबाही गरेको छ । नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस चौतारीको उम्मेदवारका विरूद्धमा प्रयोग भएका पात्रहरूलाई कारवाही गरेको प्रेस चौतारीले जनाएको छ ।
प्रेस चौतारीले रूद्र सुवेदी, दिनेश थापा, मनुका कुँवर र अनुप तिवारीलाई पाँच वर्षका लागि सदस्यताबाट कारबाही गरेको हो । साथै पत्रकार महासंघको निर्वाचनमा संगठनको नीति र निर्णय विपरित उम्मेदवारी दिएका प्रस्ताव र समर्थकहरू समेत एक वर्षका लागि कारबाही गरिएको चौतारी केन्द्रीय कमिटिको बैठकले निर्णय गरेको छ ।
बैठकले सङ्गठनको स्थापना दिवसका दिन प्रदान हुँदै आएको हृदयचन्द्रसिंह प्रधान र अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारसहित सबै पुरस्कार सिफारिस गर्न वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
महिला पत्रकारलाई प्रदान गर्नेगरी यसैवर्ष स्थापना गरिएको प्रेस चौतारी राष्ट्रिय महिला पत्रकारिता पुरस्कार सिफारिस गर्न बैठकले सङ्गठनका उपाध्यक्ष देवीका घर्तीमगरको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन भएको छ ।