Logo

२८ पुस,वीरगञ्ज । ःनेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिमा नेकपा (एकिकृत समाजवादी) को आफ्नो छुट्टै पहिचान स्थापित भइसकेको बताएका छन् ।

वीरगञ्जमा आइतबार आयोजित नेकपा (एकिकृत समाजवादी) पर्साको नवौं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने,‘ नेकपा (एकिकृत समाजवादी) नेपालको राजनीतिमा स्थापित दल भइसकेको छ । यो पार्टीको आफ्नो एउटा पहिचान छ । यो पार्टी शानका साथ नेपालको राजनीतिमा उभिएको छ । यो पार्टीको आफ्नै इज्जत ,मान र सम्मान छ ।’

यद्यपि २००६ सालमा स्थापित नेपालको कम्युनिष्ट पार्टी समय समयमा टुक्रिनु भनेको दुभाग्र्यपूर्ण भएकोपनि उनले बताए ।
उनले नेपाल राष्ट्रको एकिकरण गर्ने पृथ्वीनारायण शाहप्रति आफनो उच्च सम्मन रहेको बताउँदै राज्यलेपनि उनलाई सम्मान गर्नुपर्नेमा जोड दिए । उनले भने,‘देशको हितमा काम गरेकाहरुलाई राज्य र दलहरुले संकीर्ण सोच त्यागेर सम्मान गर्नसक्नुपर्छ ,गर्नुपर्छ पनि।’

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने,‘माधव नेपालको अनुहारपनि हेर्न मन लाग्दैन भन्ने व्याक्ति नै सत्ता र कुर्सी चाहिएका बेला भने दौडेर म कहाँ आउनु पर्यो ।’ तर आँफुले कोहिप्रति घृणाकोे भाव नराखेको उनले सुनाए । नेपालले भने,‘जस्तो बीउ रोप्यो फलपनि त्यस्तै फल्छ । जसले घृणाको बीउ रोप्छ फलमा पनि घृणा नै पाँउछ।’

दुई ठूला शक्तिराष्ट्र चीन र भारतकोबीचमा रहेको नेपाल क्षेत्रफल सानो भएपनि नेपालको आफ्नो छुट्टै इज्जत,प्रतिष्ठा र स्वाभिमान रहेको धारणा उनले राखे ।

हरेक राजनीतिक दलले नेपाल र नेपालीको हितमा काम गर्नुपर्नेमा जोड दिदैं उनले अमेरिका, रुस,चीन,भारत लगायतका देशका सरकार प्रमुखसंग नेपालको हित र प्रतिष्ठा बढाउनका लागि आँफुले संवाद र छलफल गरेको उनले सुनाए ।

जनताको विश्वास र समर्थन प्राप्त गरेमात्रै पार्टी बलियो हुनेभन्दै उनले जनताको विश्वास र समर्थन पाउनका लागि कार्यकर्ताले मेहनत गर्न आवश्यक भएको बताए ।उनले भने,‘जुन दलका नेताकाार्यकर्ता जनताको माझमा गएर उनिहरुका पिडा,वेदना र समस्या सुन्छन् ।ती दललाई नै जनताको समर्थन र साथ प्राप्त हुन्छ । यसकालागि जनताको माझमा जान म नेताकार्यकर्ताहरुलाई आग्रह गर्छु।’

नेकपा (एकिकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी,जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनेश प्रसाद यादव,राप्रपाका नेता सुमेश्वरनाथ उपाध्याय लगायतकालेपनि सम्बोधन गर्दै अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।

 


सम्बन्धित समाचार