Logo

२९ पुस,बारा । बाराको कलैया उपमहानगरपालिकाको हिउँदे नगर सभा सम्पन्न भएको छ ।

उपमहानगरपालिकाको १४ औँ नगर सभा सोमबार सम्पन्न भएको हो । “शैक्षिक, प्रशासनिक पर्यटकीय शहर, स्वच्छ समुन्नत कलैया नगर, कृषि र पूर्वाधार समृद्ध कलैयाको आधार” नारासहित सभा सम्पन्न भएको हो ।

ऐन, कानुन, नीति नियम तथा बजेट संशोधनका लागि उपमहानगरपालिकाको कार्यालयले हिउँदे अधिवेशन गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बताए । हिउँदे नगर सभाको उद्धाटन गर्दै नगर प्रमुख बिनोद साहले कलैयाको बिकासका लागि हरतवरले अघि बढ्ने बताए ।

कसैको प्रभाव तथा दबाबमा नपरी यहाँ द्रूत गतिमा विकास निर्माणका कार्यहरु सञ्चालन गर्ने उनले प्रतिवद्धता जनाए । मानमत–मटिअर्वा सडकखण्डको कार्य तथा कलैयामा लाग्ने हाट बजारको स्वरुप परिवर्तन गर्नु आफ्नो प्रमुख उद्देश्यले रहेको उनको भनाइ थियो ।

नगरको विकासमा बाधा पु¥याउने कार्य नगर्न÷नगराउन उनले सम्पूर्णमा आग्रहसमेत गरेका छन् । उनी भन्छन्, ‘यहाँ विकास भयो भने सबैमा फरक पर्छ, उपमहानगरपालिकाको कायापलट नै हुन्छ । त्यसैले विकास निर्माणको कार्यमा कुनै अवरोध ल्याइयो भने त्यसले हामी सबैलाइ हानी गर्छ, त्यसकारण सबै मिलेर विकास निर्माणको कार्यमा जुटौं यही आग्रह छ ।’

मधेस प्रदेशकै सबभन्दा ठूलो उपमहानगर कलैया भएकोले यसको विकासमा राजनीति नगर्न उनको अपील छ । जानकी सिनेमा हलमा सम्पन्न सभामा उपमेयर रौशन प्रविनले चालु आव ०८१÷०८२ को लागि नीति तथा कार्यक्रमको अर्धवार्षिक समिक्षा प्रस्तुत गरेकी थिइन ।

चालु आवमा विभिन्न निकायबाट ५६ करोड ४५ लाख ८ हजार १९१ रुपैया आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये मंसिरमसान्तसम्ममा चालूतर्फ १२ करोड २४ लाख तथा पूँजीगततर्फ १० करोड १० लाख खर्च भएको उपमहानगरपालिकाको प्रतिवेदनमा लेखिएको छ ।

त्यस्तै संघतर्फ १७ करोड ९१ लाख २५ हजार गरी चालिस करोड २५ लाख २५ हजार रुपैँया खर्च भइसकेको नगरसभामा प्रतिवेदन प्रस्तुत गरिएको छ । कलैया उपमहानगरपालिकाको कार्यालयका अनुसार अहिलेसम्म ३० प्रतिशतको हाराहारीमा पूँजीगत बजेट खर्च भएको छ । बजेट अभावका कारण धेरै रकम खर्च गर्न नसकिएको कलैया उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।

उपमहानगरपालिकाको हिउँदे अधिवेशनमा बारा जिल्लाबाट विभिन्न खेलमा उत्कृष्ट गरेका खेलाडीहरुलाई नगदसहित सम्मानित गरिएको छ ।

बारा जिल्लाबाट प्रतिनिधित्व गर्ने जनकपुर बोल्टस्का कप्तान अनिल साह र खेलाडी अरनीको यादवलाई सम्मान गरिएको हो । उनीहरुलाई नगरप्रमुख साह र उपप्रमुख प्रविनले जनही ५१ हजार नगद सहित सम्मानपत्रले सम्मान गरे ।

त्यस्तै सितोरियोका बिजेता खेलाडी, प्रशिक्षक अनिल पान्डे समेतलाई सम्मानस्वरुप जनही ५÷५ हजार रुपैँया प्रदान गरिएको छ ।


सम्बन्धित समाचार